
काठमाडौं। केयर रेटिङ्स नेपाल लिमिटेडले कामना सेवा विकास बैंक लिमिटेडको इश्युअर रेटिङ स्तरोन्नति गरेको छ। रेटिङ एजेन्सीले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर–एनपी बीबी प्लस (इस्युयर)’ रेटिङलाई बढाएर ‘केयर–एनपी बीबीबी माइनस (इस्युयर)’ प्रदान गरेको हो।
केयर रेटिङ्स नेपालका अनुसार ‘केयर–एनपी बीबीबी माइनस’ रेटिङ प्राप्त संस्थाले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने र मध्यम स्तरको कर्जा जोखिम वहन गर्ने क्षमता राख्ने मानिन्छ।
रेटिङ स्तरोन्नतिका क्रममा बैंकको पूँजीकोषमा भएको सुधार, कर्जाको गुणस्तर व्यवस्थापनमा देखिएको प्रगति तथा अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोलीलाई आधार मानिएको छ। त्यस्तै, बैंकको मुनाफामा भएको सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा आएको सुधार, सुदृढ तरलता तथा बजार हिस्सालगायतका पक्षलाई समेत रेटिङ निर्धारणका आधारका रूपमा लिइएको बैंकले जनाएको छ।
बैंकका अनुसार रेटिङमा भएको सुधारले बैंकको वित्तीय अवस्था तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ। यसबाट निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता, नियामक निकाय तथा अन्य सरोकारवालाको बैंकप्रतिको विश्वास थप सुदृढ हुने अपेक्षा बैंकले गरेको छ।
रेटिङ स्तरोन्नतिले प्रतिस्पर्धी लागतमा स्रोत परिचालन गर्न तथा संस्थागत निक्षेप र व्यावसायिक साझेदारी विस्तार गर्न समेत सहयोग पुग्ने बैंकको विश्वास छ।
कामना सेवा विकास बैंकले सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे