
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले आफू असाधारण अर्थात् ‘एक्स्ट्रा अर्डिनरी’ व्यक्ति बन्न प्रयास गरिरहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू औसत क्षमताको इन्जिनियर भए पनि राम्रो क्षमता, सही नियत र तथ्यमा बलियो भएका व्यक्तिहरूबाट प्रभावित हुने बताए। उनले आफू पनि त्यस्तै बन्न प्रयास गरिरहेको बताएका हुन्।
आचार्यको भनाइ प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग गरेको छलफलसँग जोडिएको देखिन्छ। उक्त छलफलमा १७ जना सांसद सहभागी थिए। प्रधानमन्त्री शाहले सांसदहरूको विचार र बोल्ने शैलीका आधारमा उनीहरूलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन प्रकारमा चर्चा गरेका थिए।
शाहले इन्जिनियर सांसदहरूले देश विकास, औद्योगिकीकरण र नयाँ योजनाका लागि सिर्जनात्मक विचार दिनुपर्ने बताएका थिए। नयाँ योजना भए प्रधानमन्त्री कार्यालयमा सिधै जानकारी गराउन सकिने पनि उनले बताएका थिए।
यस्तै, आचार्यले नेपालको रुपैयाँको आफ्नै छुट्टै प्रतीक बनाउनुपर्ने माग पनि राखे। उनले डलर, युरो, पाउन्ड, येन, युआन र भारुजस्तै नेपाली मुद्राको पनि मौलिक प्रतीक हुनुपर्ने बताए। यस्तो प्रतीकले नेपालको पहिचान र राष्ट्रिय स्वाभिमान झल्काउन सक्ने भन्दै उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे