
काठमाडौं। विद्युत् नियमन आयोगले राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारणसम्बन्धी विषयमा सरोकारवालासँग सार्वजनिक सुनुवाइ तथा छलफल गर्ने भएको छ।
आयोगको २०८३ असार २ गते बसेको ३९०औँ बैठकबाट स्वीकृत ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण दस्तुर गणना सम्बन्धी मापदण्ड, २०८३’ का आधारमा प्रसारण शुल्क निर्धारण गर्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोगका अनुसार विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच निर्देशिकाको दफा ३३ बमोजिम प्रसारण शुल्कसम्बन्धी सार्वजनिक सुनुवाइ तथा छलफल कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्वीकृत मापदण्ड र त्यसका आधारमा निर्धारण हुने प्रसारण शुल्कबारे सम्बन्धित पक्षको धारणा तथा सुझाव लिइनेछ।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम २०८३ असोज १५ गते दिउँसो ३ बजे विद्युत् नियमन आयोगको सानो गौचरणस्थित सभा हलमा आयोजना हुनेछ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठको प्रमुख आतिथ्य रहने आयोगले जनाएको छ। आयोगले प्रसारण शुल्क निर्धारण प्रक्रियासँग सम्बन्धित सरोकारवालालाई कार्यक्रममा उपस्थित भई आफ्ना धारणा तथा सुझाव प्रस्तुत गर्न अनुरोध गरेको छ।
प्रसारण दस्तुर गणनाका लागि स्वीकृत मापदण्ड र त्यसका आधारमा प्रस्तावित शुल्कसम्बन्धी विषयमा सरोकारवालाको राय बुझ्दै शुल्क निर्धारण प्रक्रियालाई अघि बढाउने उद्देश्यले सार्वजनिक सुनुवाइ तथा छलफल आयोजना गर्न लागिएको आयोगले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे