
मोरङ। कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मोरङको उर्लाबारीका १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ।
सडक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको उपस्थितिमा सफारी चालकलाई ज्याकेट हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतसहित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिको उपस्थिति थियो।
उर्लाबारीका सडकमा दैनिक यात्रु ओसारपसारमा खटिने सिटी सफारी चालकको सुरक्षा तथा सहज पहिचानलाई ध्यानमा राखेर भिजिबिलिटी ज्याकेट वितरण गरिएको बैंकले जनाएको छ। विशेषगरी कम उज्यालो, साँझको समय तथा बढी सवारी चाप हुने अवस्थामा चालकलाई टाढैबाट स्पष्ट रूपमा देख्न सकिने भएकाले ज्याकेटको प्रयोगले सम्भावित सडक दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बैंकको अपेक्षा छ।
कामना सेवा विकास बैंकले समुदायका आवश्यकता पहिचान गरी सडक सुरक्षा, वित्तीय साक्षरता, डिजिटल सचेतना, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
बैंकले आगामी दिनमा पनि समुदायलाई सुरक्षित, समावेशी तथा प्रविधिमैत्री बनाउँदै ‘फ्युचर रेडी’ समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे