
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ। दसैँको नवरात्रअन्तर्गत नवौँ दिन मनाइने यस पर्वमा विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भीड लागेको छ।
महानवमीका अवसरमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाउने परम्परा छ। दसैँघर, कोत तथा राज्यका विभिन्न देवी मन्दिरमा दुर्गा भवानीको विशेष पूजा आराधना गरिनुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। कतिपय स्थानमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिने चलनसमेत छ।
पशुबलि नदिने तथा शाकाहारी भक्तजनले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवललगायतका वस्तु प्रतीकात्मक बलिका रूपमा चढाउने गर्छन्। यस अवसरमा पायससमेत अर्पण गरिन्छ। कतिपय स्थानमा महाष्टमीका दिन बलि दिने र महानवमीमा मार हान्ने परम्परा पनि प्रचलित छ। केही शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकी थिइन्। यही धार्मिक मान्यताका कारण महानवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ।
नवरात्रको अन्तिम दिन आज घरघरमा स्थापना गरिएको पूजास्थल तथा दसैँघरमा नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। यस अवसरमा कन्यालाई दुर्गाको प्रतीक मानेर पूजा गर्ने र दक्षिणा दिने परम्परा छ। साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा गरिन्छ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँसहित कोतपूजा र निशानापूजा गर्ने प्रचलन छ। हनुमानढोका दरबार परिसरका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गरिन्छ।
महानवमीसँगै दसैँको धार्मिक तथा सांस्कृतिक उत्सव थप उल्लासमय बनेको छ। देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शनका लागि भक्तजन पुग्ने क्रम जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे