
काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ। उक्त सेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाले खरिद गर्न सक्नेछन्।
त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँ बराबरको ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ।
आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिने समय तोकिएको छ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन अवधि मंसिर २४ गतेसम्म थप गर्न सकिनेछ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्युयर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे