
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले दिएको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै उनले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार र सहयोग सुनिश्चित गर्न पनि आग्रह गरेका छन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति पनि सम्मान व्यक्त गरे।
आङदेम्बेका अनुसार जेन–जी युवाहरू भ्रष्टाचार, कुशासन, नातावाद र बेथितिको विरोध गर्दै सडकमा आएका थिए। उनीहरूको उद्देश्य केवल सरकार परिवर्तन गर्नु नभई सुशासन, पारदर्शिता, जवाफदेहिता, रोजगारी र राम्रो अवसरसहितको नयाँ राजनीतिक संस्कार ल्याउनु थियो।
उनले आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग, आगजनी, तोडफोड र हिंसाका कारण ठूलो जनधनको क्षति भएको बताए। त्यसमा संलग्न सबैलाई निष्पक्ष रूपमा कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ छ।
आङदेम्बेले मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसका सिफारिस कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्। कसैलाई राजनीतिक पहुँच वा सत्ताको प्रभावका आधारमा छुट दिन नहुने उनले स्पष्ट पारे।
उनले सरकारले जेन–जीले मागेको परिवर्तन ल्याएको प्रमाणित गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण, रोजगारी, पारदर्शिता र योग्यताका आधारमा नियुक्तिमा सुधार गर्नुपर्ने बताए। जेन–जीका शहीदको बलिदानलाई केवल सत्ता प्राप्तिको माध्यम बनाउन नहुने उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे