
काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको वैवाहिक सम्बन्धमा लामो समयदेखि विवाद चलिरहेको थियो। उनीहरूबीच सम्बन्धविच्छेद हुने चर्चा पनि चलेको थियो। तर, अहिले सुनिताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएको पुष्टि भएको छ।
गोविन्दाका म्यानेजर शशि सिन्हाले सुनिताले मुद्दा फिर्ता लिएको जानकारी दिएका हुन्। सुनिता हालै मुम्बईको बान्द्रास्थित अदालतमा देखिएकी थिइन्। उनी अदालत किन पुगेकी थिइन् भन्ने त्यतिबेला स्पष्ट भएको थिएन।
पछिल्लो दुई वर्षदेखि गोविन्दा र सुनिताको सम्बन्धबारे विभिन्न चर्चा र विवाद सार्वजनिक हुँदै आएका थिए। सुनिताले केही गम्भीर आरोप र टिप्पणी गरेकी थिइन् भने गोविन्दाले पनि त्यसको जवाफ दिँदै आएका थिए। म्यानेजर सिन्हाले यो पारिवारिक विवाद मिडियामा धेरै चर्चामा आएकोमा दुःख व्यक्त गरेका छन्। उनका अनुसार पति–पत्नीबीच सामान्य झगडा भइरहन्छ र धेरै समस्या घरमै बसेर समाधान गर्न सकिन्छ।
उनले पारिवारिक विषय अदालतसम्म पुगेपछि त्यसबारे सबैलाई जानकारी हुने भएकाले यस्तो कुरा सार्वजनिक गर्नु आवश्यक नभएको बताए। मुद्दा अन्ततः फिर्ता लिनु थियो भने सुरुमा किन दायर गरियो भन्ने प्रश्नसमेत उनले उठाएका छन्। यस घटनाले आफूहरूलाई अनावश्यक रूपमा चर्चाको विषय बनाएको उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे