
काठमाडौं । एभरेष्ट बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न ३ करोड ११ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरेको छ। बैंकले उद्धार, राहत वितरण र प्रभावित परिवारको पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
बैंकका अनुसार २ करोड ५१ लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दिइएको हो। त्यस्तै, बैंकका कर्मचारीहरूले आफ्नो तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँभन्दा बढी रकम संकलन गरी सहयोग गरेका छन्।
नगद सहयोगसँगै बैंकका कर्मचारीहरूले संकलन गरेका अत्यावश्यक राहत सामग्री पनि प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ। राहत सामग्रीले बाढीका कारण समस्यामा परेका परिवारलाई तत्काल आवश्यक वस्तु उपलब्ध गराउन सहयोग पुग्ने बैंकले जनाएको छ।
बैंकले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना जनाएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह र विभिन्न संघसंस्थालाई धन्यवाद दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे