
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा, नुवाकोट र धादिङमा आएको बाढीले ती जिल्लालाई मात्र नभई सिंगो नेपाललाई ठूलो पीडा दिएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विपत्तिका कारण धेरै नागरिक दुःखमा परेको भन्दै आफू उनीहरूको पीडाप्रति गम्भीर रहेको बताए।
प्रधानमन्त्री शाहले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, आफन्त अझै सम्पर्कमा नआएका र उनीहरूको खोजीमा बाटो कुरिरहेका परिवारको पीडा आफूले राम्रोसँग बुझेको बताए।
उनले अहिले दुःखमा परेर एकअर्कासँग विलाप गर्नेभन्दा पनि उद्धार र राहतमा ध्यान दिनुपर्ने समय भएको बताए। संकटको समयमा सरकार र देशको नेतृत्वले जनतालाई निराश बनाउने होइन, साहस र भरोसा दिनुपर्ने उनको भनाइ थियो।
बाढीपछि नागरिकको ज्यान जोगाउन सरकारले उद्धार, उपचार, राहत तथा बेपत्ता व्यक्तिको खोजीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले सदनलाई जानकारी दिए। कठिन अवस्था भए पनि सरकार दृढताका साथ विपत्तिको सामना गरिरहेको प्रधानमन्त्री शाहले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे