
काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो।
युवाको भूमिका र योगदानको महत्व उजागर गर्दै हरेक वर्ष अगस्त १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो।
दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा युवा केन्द्रित बहस र पैरवीलाई अघि बढाउनु, नीति निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता बढाउनु तथा युवासँग सम्बन्धित क्षेत्रमा साझेदारी र लगानी अभिवृद्धि गर्नु रहेको छ। यससँगै युवामैत्री शासन प्रवर्द्धन तथा सरकारी, गैरसरकारी र निजी क्षेत्रका युवा केन्द्रित संस्था तथा निकायबीच सहकार्य विस्तार गर्ने उद्देश्यसमेत राखिएको छ।
दिवसका अवसरमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनीसमेत गरिने भएको छ। त्यस्तै, भृकुटीमण्डपदेखि मूल समारोहस्थल कमलादीसम्म युवा जागरण दौड आयोजना हुँदैछ।
मूल समारोहमा नेपालमा युवा उद्यमशीलता तथा रोजगारी प्रवर्द्धनका विषयमा उच्चस्तरीय प्यानल छलफलसमेत आयोजना गरिएको छ। सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायतर्फ राष्ट्रिय पुरस्कारबाट विभिन्न ६ वटा व्यवसायलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ। साथै, सातै प्रदेशका युवा उद्यमीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा साउन १ गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको थियो।
अन्तर्राष्ट्रिय युवा दिवसलाई युवाका साझा सवालमा विश्वव्यापी बहस, पैरवी र सहकार्य अघि बढाउने अवसरका रूपमा लिइन्छ। दिवसले नीति निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता र साझेदारी बढाउन प्रेरित गर्दै आएको छ। साथै, सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता, सहकार्य र पारस्परिकता प्रवर्द्धन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा समेत दिवसलाई लिइएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या १ करोड २४ लाख १२ हजार १७३ रहेको छ। यो कुल जनसंख्याको ४२ दशमलव ५६ प्रतिशत हो। युवा अवस्थालाई मानव जीवनको ऊर्जाशील, उत्साहपूर्ण र सिर्जनशील उमेर समूहका रूपमा लिइने भएकाले देशको सामाजिक तथा आर्थिक विकासमा युवाको भूमिका महत्वपूर्ण मानिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे