
काठमाडौँ । बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणालीका कारण नेपालमा आगामी केही दिन वर्षाको प्रभाव बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली २४ घण्टापछि कमजोर हुँदै जाने सम्भावना भए पनि त्यसको प्रभावले देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ।
महाशाखाले आगामी चार दिन देशभर मनसुनी वर्षा हुने जनाएको छ। विशेषगरी असोज ९ गते शुक्रबार र १० गते शनिबार धेरै पानी पर्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
बिहीबार बागमती, गण्डकी, लुम्बिनी, मधेश र कोशी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। सुदूरपश्चिम र कर्णालीमा भने वर्षाको जोखिम तुलनात्मक रूपमा कम रहनेछ।
शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा अति भारी वर्षाको सम्भावना छ। शनिबार भने वर्षाको जोखिम पश्चिमतिर सर्नेछ। त्यस दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्नेछ।
आइतबारदेखि भने वर्षाको जोखिम बिस्तारै घट्दै जाने मौसमविद्हरूले बताएका छन्। भारी वर्षाका कारण बाढी, पहिरो र यातायातमा समस्या आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे