
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई जलवायुजन्य विपद्बाट भएको क्षति पुनःनिर्माण गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ।
जी–७ विकास मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले हालैको बाढी र पहिरोले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको जानकारी दिनुभयो। प्रारम्भिक अनुमानअनुसार क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उहाँले बताउनुभयो।
बाढीपहिरोका कारण घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको मन्त्री खनालको भनाइ छ। उहाँले पुनःस्थापना, जलवायु वित्त, विपद् पूर्वतयारी र हिमाली क्षेत्रको संरक्षणका लागि जी–७ देशसँग सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो।
मन्त्री खनालले जलवायु परिवर्तन नेपालका लागि भविष्यको मात्र नभई अहिले नै देखिएको समस्या भएको बताउनुभयो। विश्वमा हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान निकै कम भए पनि जलवायु परिवर्तनको असर नेपालले ठूलो रूपमा भोगिरहेको उहाँले उल्लेख गर्नुभयो। साथै, दीर्घकालीन सहयोगबाट नेपाललाई विपद्पछिको पुनःनिर्माणमा सहज हुने बताउनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे