
काठमाडौँ । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई चार वर्षसम्मका लागि अध्यक्ष बनाइएको हो। उनले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिए।
शपथपछि मन्त्री तिमिल्सिनाले श्रेष्ठलाई विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन काम गर्न निर्देशन दिए। उनले बोर्डका समस्या, अवसर र चुनौती पहिचान गरी सुधारका स्पष्ट योजना बनाउनुपर्ने बताए। कानुन तथा नियम प्रभावकारी रूपमा लागू हुन नसक्नु मुख्य चुनौती रहेको उनको भनाइ थियो।
मन्त्रीले सरकारी लोककल्याणकारी विज्ञापन वितरण पारदर्शी र निष्पक्ष बनाउन पनि जोड दिए। अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति र कानुन कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले सुशासन र नागरिकलाई सहज सेवा दिनेगरी नयाँ योजना बनाएर काम गर्ने बताए।
श्रेष्ठ नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष हुन् र विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव राख्छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे