
काठमाडौँ । फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित उडान सुरु गर्दैछ। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि यो सेवाले पोखराका पर्यटन व्यवसायी, उद्योगी र सर्वसाधारणमा उत्साह थपेको छ।
विमानस्थलका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा आइपुग्नेछ र यात्रु लिएर ७ः१५ बजे दुबईतर्फ उड्नेछ। विमानस्थलमा विमानलाई पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गो र सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको अधिकारीहरूले बताएका छन्। पोखराका पर्यटन व्यवसायीले दुबईबाट आउने र दुबई जाने यात्रुलाई खादा तथा मालाले स्वागत र बिदाइ गर्ने तयारी गरेका छन्।
दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट केन्द्र भएकाले पोखराबाट नियमित उडानले नेपाललाई अन्य देशसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। रोजगारी र अध्ययनका लागि दुबई जाने नेपालीलाई पनि यस उडानले सहज हुने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे