
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोनमा कुराकानी भएको छ। कुराकानीका क्रममा प्रधानमन्त्री शाहले मलेसियामा काम गर्न जाने नेपाली श्रमिकको समस्या समाधान गर्नुपर्ने विषय उठाए।
उनले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट र विचौलियाको चलखेलले नेपाली कामदारलाई दुःख दिएको बताए। यस्तो प्रणालीले श्रमिकलाई आर्थिक तथा अन्य रूपमा शोषण गर्ने भएकाले अब स्वीकार गर्न नसकिने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले समस्या स्थायी रूपमा समाधान गर्न नेपाल र मलेसियाका श्रममन्त्रीबीच प्रत्यक्ष छलफल गराउन आग्रह गरे।
मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र विचौलिया प्रथाको आफू विपक्षमा रहेको बताए। उनले आफ्ना श्रममन्त्रीलाई नेपाली श्रममन्त्रीसँग तुरुन्त समन्वय गरी समस्या समाधानका लागि ठोस कदम चाल्न निर्देशन दिने प्रतिबद्धता जनाए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे