
दार्चुला । अपिहिमाल गाउँपालिका–१ भट्टार बस्ती नजिकै चौलानी नदीमा शुक्रबार पहिरो खसेपछि नदीको केही भाग थुनिएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
नदी थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने सम्भावना भएकाले चौलानी नदीको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। सम्भावित बाढी तथा अन्य जोखिमबाट जोगिन सुरक्षित स्थानतर्फ जान र सावधानी अपनाउन भनिएको छ।
प्रशासनले बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि १९५५ र विपद्का बेला सहयोग आवश्यक परे १२३४ मा सम्पर्क गर्न आग्रह गरेको छ। तत्काल उद्धार वा प्रहरी सहयोग आवश्यक परे नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ मा फोन गर्न सकिनेछ।
घटना भएमा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरीको सम्बन्धित गणमा समेत जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे