
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट (पेपर लिक) मा संलग्न व्यक्तिलाई छिटो र कडा कारबाही गर्न फास्ट–ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन्। उनले यो जानकारी बिहीबार फेसबुकमार्फत दिएका हुन्। पछिल्ला दिनमा योग्यता र प्रवेश परीक्षामा प्रश्नपत्र चुहिएको घटनाको विरोध गर्दै ‘कक्रोज जनता पार्टी’ (सीजेपी) ले शिक्षा प्रणाली सुधारको मागसहित आन्दोलन सुरु गरेपछि मोदीले सरकारको धारणा सार्वजनिक गरेका हुन्। उनले युवाको भविष्य सरकारका लागि सबैभन्दा महत्वपूर्ण रहेको भन्दै परीक्षामा हुने अनियमितता कुनै पनि हालतमा सहन नसकिने बताएका छन्। मोदीका अनुसार प्रश्नपत्र चुहावटमा संलग्नलाई छिटो न्याय दिलाउन र कडा सजाय सुनिश्चित गर्न विशेष अदालत गठन गरिनेछ।
यसका लागि सम्बन्धित निकाय र सरकारी अधिकारीलाई आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिइएको पनि उनले बताएका छन्। उनले सरकारले विद्यार्थीको हित र निष्पक्ष परीक्षा प्रणाली कायम राख्न निरन्तर काम गरिरहेको उल्लेख गर्दै युवाको भविष्यसँग खेलबाड गर्ने जोसुकैलाई पनि कानुनी कारबाहीबाट उन्मुक्ति नदिइने स्पष्ट पारे। सरकारले यो कदम शिक्षा प्रणालीप्रति विश्वास कायम राख्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन चालेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे