
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटबाट रसुवा जाने मुख्य सडक अवरुद्ध भएपछि बागमती प्रदेश सरकारले वैकल्पिक सडकको स्तरोन्नति तथा विस्तारको काम अघि बढाएको छ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय नुवाकोटले नुवाकोट–विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडकलाई सञ्चालनयोग्य बनाउन स्तरोन्नतिको काम सुरु गरेको हो।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटबाट रसुवा जाने सडकमा क्षति पुर्याएपछि आवतजावत प्रभावित भएको थियो। त्यसपछि प्रदेश सरकारले वैकल्पिक मार्गका रूपमा रहेको चोगटे–सरमथली–जिरोकिलो सडकलाई तत्काल सुधार गरी सञ्चालनमा ल्याउने काम अघि बढाएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सामाजिक सञ्जालमार्फत वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिका क्रममा देखिएका समस्या समाधान गर्दै कामलाई निरन्तरता दिइएको जानकारी दिएका छन्।
मुख्यमन्त्री थापाका अनुसार नागरिकको आवतजावत सहज बनाउनुका साथै बाढी प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसारमा अवरोध नहोस् भन्ने उद्देश्यले सडक स्तरोन्नतिलाई प्राथमिकता दिइएको हो।
विदुरदेखि जिरोकिलोसम्मको सडकखण्ड करिब १५ किलोमिटर रहेको बताइएको छ। बाढीका कारण मुख्य सडकमा यातायात सञ्चालनमा समस्या आएपछि उक्त वैकल्पिक मार्गलाई तत्काल प्रयोगयोग्य बनाउने कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे