
काठमाडौं । दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। आज आश्विन कृष्ण प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ।
वैदिक सनातन हिन्दू परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृको सम्झनामा विभिन्न धार्मिक विधि पूरा गर्ने गरिन्छ। यही १६ तिथिमा श्राद्ध गरिने भएकाले यस अवधिलाई ‘सोह्र श्राद्ध’ भनिएको हो।
सोह्र श्राद्धको अवधिलाई ‘अपर पक्ष’ तथा ‘प्रेत पक्ष’समेत भन्ने गरिन्छ। हिन्दू धार्मिक परम्परामा चाडपर्व, यज्ञयाग तथा अन्य शुभकार्यअघि दिवङ्गत पितृलाई श्रद्धापूर्वक सम्झने तथा उनीहरूप्रति सम्मान व्यक्त गर्ने प्रचलन रहेको छ।
सोह्र श्राद्धका क्रममा पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदानलगायतका धार्मिक कार्य गरिन्छ। धार्मिक मान्यताअनुसार यसबाट पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट मुक्त हुने विश्वास गरिन्छ।
काठमाडौंको पशुपतिनाथ क्षेत्रसहित विभिन्न धार्मिकस्थल तथा नदी किनारमा सोह्र श्राद्ध गर्ने परम्परा छ। पितृ पक्ष सुरु भएसँगै ती स्थानमा श्राद्ध तथा तर्पणका लागि श्रद्धालु पुग्ने गर्छन्।
तर, केही दिनदेखि लगातार भइरहेको वर्षाका कारण यस वर्ष सोह्र श्राद्धको पहिलो दिन पशुपति क्षेत्रमा विगतका वर्षको तुलनामा श्रद्धालुको चहलपहल कम देखिएको छ। प्रतिकूल मौसमका कारण टाढाबाट आउने श्रद्धालुको आवागमनमा समेत असर परेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे