
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा घरजग्गा किनबेच तथा रजिष्ट्रेशन कारोबारमा गिरावट आएको छ। गत आर्थिक वर्षको तुलनामा घरजग्गा रजिष्ट्रेशन संख्या १.२५ प्रतिशतले घटेर ५ लाख २४ हजार २०८ मा सीमित भएको छ। गत आर्थिक वर्षमा यस्तो संख्या ५ लाख ३० हजार ८६२ रहेको थियो।
घरजग्गा कारोबारबाट सरकारले प्राप्त गर्ने राजस्वसमेत समीक्षा अवधिमा घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशनबाट ३६ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा २.०४ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा भने यस्तो राजस्व १७.९४ प्रतिशतले बढेको थियो।
घर तथा भवन निर्माणसम्बन्धी गतिविधिमा समेत सुस्तता देखिएको छ। गत आर्थिक वर्षमा ६.३५ प्रतिशतले बढेको घर तथा भवनको स्थायी नक्सापास संख्या समीक्षा वर्षमा २.९८ प्रतिशतले घटेको छ।
प्रदेशगत विवरणअनुसार समीक्षा अवधिमा मधेश प्रदेशमा सबैभन्दा बढी १ लाख १६ हजार २०७ वटा घरजग्गा रजिष्ट्रेशन कारोबार भएको छ। कुल रजिष्ट्रेशन संख्यामा मधेश प्रदेशको हिस्सा २२.१७ प्रतिशत रहेको छ। त्यस्तै, कर्णाली प्रदेशमा सबैभन्दा कम १८ हजार ७३४ वटा घरजग्गा किनबेच तथा रजिष्ट्रेशन भएको छ।
घर तथा भवनको स्थायी नक्सापासमा भने बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ। समीक्षा अवधिमा बागमती प्रदेशमा १४ हजार ९३५ वटा घर तथा भवनको स्थायी नक्सा पास भएको छ।
प्रदेशगत तुलनामा कोशी र मधेश प्रदेशबाहेक अन्य प्रदेशमा गत आर्थिक वर्षको तुलनामा घरजग्गा रजिष्ट्रेशन संख्या बढेको छ। समग्रमा घरजग्गा कारोबारको संख्या, त्यसबाट प्राप्त हुने सरकारी राजस्व तथा भवन निर्माणसम्बन्धी नक्सापासमा आएको गिरावटले समीक्षा वर्षमा सार्वजनिक निर्माण तथा रियलस्टेट क्षेत्रमा सुस्तता देखिएको संकेत गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे