
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि इन्धन तथा एलपी ग्यास ढुवानीमा समस्या उत्पन्न भए पनि नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी छोटो समयमै ठूलो परिमाणमा ग्यास सिलिन्डर काठमाडौं उपत्यकामा भित्र्याएको छ।
निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० र भदौ १९ गते ३४ हजार १३४ गरी दुई दिनमा ५८ हजार ६३४ थान एलपी ग्यास सिलिन्डर उपत्यकामा ल्याइएको छ। यसले राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यास आपूर्तिमा पर्न सक्ने सम्भावित असरलाई न्यूनीकरण गर्न सहयोग पुगेको निगमले जनाएको छ।
भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग क्षतिग्रस्त भएपछि इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेटहरू बाटोमै रोकिएका थिए। त्यसपछि उपत्यकामा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति प्रभावित हुन सक्ने आशंका बढेको थियो।
आपूर्ति व्यवस्थालाई निरन्तरता दिन निगमले तत्काल त्रिभुवन राजपथ (बाइरोड) लाई वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो। उक्त मार्गमार्फत तराई क्षेत्रमा रहेका उद्योगबाट भरिएका ग्यास सिलिन्डर काठमाडौं उपत्यकातर्फ ढुवानी गर्न थालिएपछि आपूर्ति सहज बन्दै गएको निगमले जनाएको छ।
निगमका अनुसार हाल काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको नियमित आपूर्ति भइरहेको छ। मुख्य राजमार्गमा देखिएको अवरोधका बीच वैकल्पिक मार्ग प्रयोग गरेर आपूर्ति व्यवस्थापनलाई निरन्तरता दिइएको निगमको भनाइ छ।
यसैबीच, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको क्षतिपछि जारी खोज तथा उद्धार कार्यमा समेत नेपाल आयल निगमले आवश्यक इन्धन तथा ग्यास उपलब्ध गराउँदै आएको जनाएको छ।
निगमका अनुसार उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गरिएको छ। विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन आवश्यक हवाई इन्धन उपलब्ध गराइएको निगमले जनाएको हो।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी आश्रयस्थलमा ५७५ थान एलपी ग्यास सिलिन्डरसमेत पठाइएको निगमले जनाएको छ। विपद् प्रभावित नागरिकका लागि सञ्चालन गरिएका अस्थायी आश्रयस्थलमा खाना पकाउन आवश्यक ग्यास उपलब्ध गराउने उद्देश्यले ती सिलिन्डर पठाइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे