
काठमाडौँ । पाकिस्तानले नेपालका बाढी प्रभावित नागरिकका लागि १०० टन राहत सामग्री उपलब्ध गराएको छ। पाल, कम्बल, म्याट, सरसफाइ सामग्री तथा औषधिलगायतका राहत सामग्रीसहितको उक्त सहयोग काठमाडौँ आइपुगेको हो।
नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले उपलब्ध गराएको राहत सामग्री नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्रराज भण्डारीले ग्रहण गरेका छन्।
राहत सामग्री हस्तान्तरणका क्रममा पाकिस्तानले नेपालमा आएको बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै मानवीय सहयोग उपलब्ध गराएको जनाएको छ। बाढीबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री पठाइएको हो।
पाकिस्तानको यो सहयोगले विपद्को समयमा नेपाल र नेपाली जनताप्रति पाकिस्तानको ऐक्यबद्धता तथा सहयोगलाई पुनः पुष्टि गरेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे