
काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा देशभरका विभिन्न अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा सबैभन्दा बढी रहेको पाइएको छ। उक्त अवधिमा अदालतमा दर्ता भएका मुद्दाको प्रकृति विश्लेषण गर्दा सम्बन्ध विच्छेद, अंशबन्डा, लेनदेन र जग्गासम्बन्धी विवादका मुद्दा प्रमुख रूपमा देखिएका छन्।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा सम्बन्ध विच्छेदका ४२ हजार ७३९ मुद्दा लगतमा रहेका थिए। तीमध्ये ३३ हजार ५० वटा मुद्दा फछ्र्योट भएका छन् भने ९ हजार ६८९ मुद्दा बाँकी छन्। कुल मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दाको हिस्सा ११.५१ प्रतिशत रहेको छ।
त्यस्तै, लेनदेनसम्बन्धी ३९ हजार ५८७ मुद्दा लगतमा रहेकामा २२ हजार ५५७ मुद्दा फछ्र्योट भएका छन्। यस प्रकृतिका १७ हजार ३० मुद्दा बाँकी रहेका छन्। कुल मुद्दामा लेनदेनसम्बन्धी मुद्दाको हिस्सा १०.६६ प्रतिशत रहेको छ।
अंशबन्डासम्बन्धी मुद्दा ३६ हजार ८९४ वटा लगतमा रहेकामा २३ हजार ७१ वटा फछ्र्योट भएका छन्। अझै १३ हजार ८२३ वटा मुद्दा बाँकी छन्। कुल मुद्दामा अंशबन्डासम्बन्धी मुद्दाको हिस्सा ९.९३ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।
जग्गासम्बन्धी विवादका २८ हजार ७५१ मुद्दा लगतमा रहेकामा १७ हजार ७८३ वटा फछ्र्योट भएका छन् भने १० हजार ९६८ मुद्दा बाँकी छन्। यस्ता मुद्दाको हिस्सा ७.७४ प्रतिशत रहेको छ।
त्यसैगरी, चेक अनादरसम्बन्धी २१ हजार १८ मुद्दा लगतमा रहेकामा १० हजार ७८५ वटा फछ्र्योट भएका छन्। १० हजार २३३ मुद्दा बाँकी छन्। कुल मुद्दामा यसको हिस्सा ५.६६ प्रतिशत रहेको छ।
लिखत बदरसम्बन्धी १९ हजार ५१ मुद्दामध्ये १० हजार ५४१ वटा फछ्र्योट भएका छन् भने ८ हजार ५१० मुद्दा बाँकी छन्। यस्ता मुद्दाको हिस्सा ५.१३ प्रतिशत रहेको छ। जालसाजीसम्बन्धी १७ हजार ७२६ मुद्दा लगतमा रहेकामा ९ हजार ३०६ वटा फछ्र्योट भएका छन् भने ८ हजार ४२० मुद्दा बाँकी छन्। जालसाजीका मुद्दाको हिस्सा ४.७७ प्रतिशत रहेको छ।
फौजदारी प्रकृतिका मुद्दातर्फ जबरजस्ती करणीसम्बन्धी १० हजार ३४९ मुद्दा लगतमा रहेका थिए। तीमध्ये ६ हजार ५५ वटा फछ्र्योट भएका छन् भने ४ हजार २९४ मुद्दा बाँकी छन्। कुल मुद्दामा यसको हिस्सा २.७९ प्रतिशत रहेको छ।
कर्तव्य ज्यानसम्बन्धी ५ हजार ४४४ मुद्दा लगतमा रहेकामा २ हजार ८५७ वटा फछ्र्योट भएका छन्। २ हजार ५८७ मुद्दा बाँकी छन्। यस्ता मुद्दाको हिस्सा १.४७ प्रतिशत रहेको छ।
त्यस्तै, सवारी ज्यान वा अङ्गभङ्गसम्बन्धी ४ हजार ८३७ मुद्दा लगतमा रहेकामा ३ हजार ३८२ वटा फछ्र्योट भएका छन् भने १ हजार ४५५ मुद्दा बाँकी छन्। कुल मुद्दामा यस प्रकृतिका मुद्दाको हिस्सा १.३० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
यसरी हेर्दा आर्थिक वर्ष २०८१/८२ मा अदालतमा दर्ता भएका बढी संख्याका मुद्दामा पारिवारिक विवादसँगै सम्पत्ति, लेनदेन, जग्गा तथा आर्थिक कारोबारसम्बन्धी विवादको हिस्सा उल्लेख्य देखिएको छ। सम्बन्ध विच्छेद, अंशबन्डा, लेनदेन र जग्गासम्बन्धी मुद्दा मात्रै शीर्ष चार प्रकृतिमा रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे