
काठमाडौं । दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ता ठगी, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि तथा अनुचित व्यापारिक गतिविधि हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ। चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ्ने र त्यसको फाइदा उठाउँदै केही व्यवसायीले म्याद गुज्रिएका वस्तु बिक्री गर्ने, नापतौलमा अनियमितता गर्ने तथा अस्वाभाविक मूल्य निर्धारण गर्ने जोखिमलाई ध्यानमा राख्दै अनुगमन बढाइएको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलक्षित बजार अनुगमनसँगै काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउनसमेत आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार व्यवसायीको मागअनुसार चाडपर्वका लागि आवश्यक मालसामान आपूर्तिको अनुमति दिने काम भइरहेको छ। एजेन्सी अनुमति प्राप्त संस्थालाई दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि आवश्यक अनुमति उपलब्ध गराइएको उनले बताए।
चाडपर्वका बेला वस्तुको माग बढ्दा मूल्यसमेत बढ्न सक्ने भएकाले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापनका विषयमा व्यवसायीसँग निरन्तर छलफल तथा समन्वय भइरहेको विभागले जनाएको छ।
बजारमा हुने अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न विभागले सामान्य अवस्थाको तुलनामा अनुगमन टोलीको संख्या बढाएको छ। हाल काठमाडौं उपत्यकामा ११ वटा टोली परिचालन गरिएको सूचना अधिकारी किरातीले जानकारी दिए। उनका अनुसार यी टोलीले करिब एक महिनादेखि दैनिक रूपमा बजार अनुगमन गर्दै आएका छन्।
प्रत्येक टोलीमा चारदेखि पाँच जनासम्म कर्मचारी रहने गरी ५४ जना कर्मचारी दैनिक बजार अनुगमनमा परिचालन गरिएको विभागले जनाएको छ। सामान्य अवस्थामा तीनदेखि चारवटा टोलीले नियमित बजार अनुगमन गर्ने भए पनि चाडपर्वलाई लक्षित गरी थप टोली परिचालन गरिएको हो।
विभागमा उपलब्ध जनशक्ति पर्याप्त नभएकाले अन्य सरकारी कार्यालयबाट कर्मचारी काजमा ल्याएर अनुगमन टोली विस्तार गरिएको किरातीले बताए। उनका अनुसार हाल दैनिक ११ वटा टोली बजारमा परिचालन भइरहेका छन् भने एक दिनमा ५० भन्दा बढी फर्मको अनुगमन गर्ने गरिएको छ।
चाडपर्वका बेला खाद्य वस्तुको गुणस्तर, तौल तथा स्वच्छतामा हुन सक्ने अनियमितता नियन्त्रण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि बजार अनुगमनलाई प्राथमिकता दिएको छ। विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार खाद्यान्न पसल, गोदाम, डेरी तथा मिठाई पसलमा विशेष निगरानी राख्दै नियमित अनुगमन भइरहेको छ।
विभागले खाद्य वस्तुको गुणस्तर तत्काल परीक्षण गर्न मोबाइल भ्यानसमेत प्रयोग गरिरहेको छ। मोबाइल भ्यानमार्फत अनुगमनस्थलमै खाद्य वस्तुको सामान्य परीक्षण गर्न सकिने प्रवक्ता शर्माले बताइन्। उनका अनुसार मोबाइल भ्यानबाट सीमित प्रकृतिका परीक्षण मात्र सम्भव हुने भएकाले आवश्यकताअनुसार सातामा दुईदेखि तीन पटक यसको प्रयोग गरी बजार अनुगमन गर्ने गरिएको छ।
विभागका अनुसार दैनिक दुईदेखि तीनवटा टोली खाद्य बजारको अनुगमनमा खटिने गरेका छन्। अनुगमनका क्रममा गुणस्तरहीन वा दूषित खाद्य वस्तु फेला परेमा नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिन्छ।
प्रयोगशाला परीक्षण आवश्यक नपर्ने गरी स्पष्ट रूपमा दूषित वा अखाद्य वस्तु फेला परेमा भने सम्बन्धित व्यवसायीविरुद्ध कानुनी कारबाही तथा मुद्दा दर्ताको प्रक्रिया अघि बढाइने प्रवक्ता शर्माले बताइन्।
बजार अनुगमनसँगै उपभोक्तालाई आफ्नो अधिकार र वस्तु खरिद गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउने कामसमेत भइरहेको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाका अनुसार चाडपर्वका बेला उपभोक्ता ठगीमा नपरून् भन्ने उद्देश्यले विभिन्न माध्यमबाट जनचेतनामूलक सन्देश प्रवाह भइरहेको छ।
उनका अनुसार स्थानीय तह, सहकारी संघसंस्था तथा विद्यालयसँग समन्वय र सहकार्य गरी उपभोक्ता अधिकार तथा बजारमा वस्तु तथा सेवा खरिद गर्दा अपनाउनुपर्ने सावधानीसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे