
काठमाडौँ । बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर छनोटमा देखिँदै आएको मनोमानी र असमान अवसरको गुनासो सम्बोधन गर्न स्वचालित प्रणाली लागू गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष चासोमा नेपाल बीमा प्राधिकरणले डिजिटल प्रविधिमा आधारित ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको हो।
प्राधिकरणका अनुसार बीमा कम्पनीले आफूअनुकूल सर्भेयर छनोट गरी काम दिने गरेको गुनासो आउने गरेको अवस्थामा सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी, समान अवसरमा आधारित र जवाफदेही बनाउन नयाँ प्रणाली विकास गरिएको हो। प्रणाली सञ्चालनमा आएपछि दाबीसम्बन्धी विवरणका आधारमा तोकिएका मापदण्ड पूरा गर्ने सर्भेयरलाई स्वचालित रूपमा छनोट गरी काममा खटाइनेछ।
नयाँ प्रणालीको परीक्षण असोज १२ गते सोमबार साँझदेखि सुरु गरिएको प्राधिकरणले जनाएको छ। प्रणालीसम्बन्धी जानकारी तथा प्रयोगका लागि असोज १३ गते निर्जीवन बीमा कम्पनीका सूचना प्रविधि प्रमुख र दाबी प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिने व्यवस्था गरिएको छ। त्यसपछि सर्भेयरहरूलाई पनि प्रणाली प्रयोगसम्बन्धी तालिम प्रदान गरिनेछ।
प्राधिकरणले सर्भेयर छनोटका लागि उनीहरूको विशेषज्ञता, वरिष्ठता, उपलब्धता, भौगोलिक स्थान, पोर्टफोलियो तथा यसअघि प्राप्त गरिसकेको कामलगायतका विवरणलाई आधार बनाउने गरी प्रणाली विकास गरेको छ। कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि सम्बन्धित घटनाको प्रकृति र आवश्यकताअनुसार उपयुक्त सर्भेयर छनोट गर्ने काम प्रणालीले तोकिएका मापदण्डका आधारमा गर्नेछ।
प्राधिकरणका अनुसार हाल नयाँ प्रणालीमा सर्भेयरहरूको विवरण प्रविष्ट गर्ने काम अघि बढाइएको छ। अहिलेसम्म ८८ जना संस्थागत र बाँकी व्यक्तिगत गरी ६८० जना सर्भेयरको विवरण प्रणालीमा समावेश भइसकेको छ। प्रणालीमा सर्भेयरले यसअघि प्राप्त गरेका काम, सम्पन्न गरेका काम तथा थप जिम्मेवारी लिन सक्ने अवस्थासमेत अभिलेख हुने व्यवस्था गरिएको छ।
हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम लिन पाउने व्यवस्था भए पनि उनीहरूले प्राप्त गरेको कामको प्रभावकारी अभिलेख तथा निगरानी गर्न कठिनाइ हुँदै आएको प्राधिकरणको भनाइ छ। स्वचालित प्रणाली सञ्चालनमा आएपछि प्रत्येक सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरण प्रणालीबाटै हेर्न सकिनेछ।
प्राधिकरणले प्रणाली विकासअघि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, दाबी प्रमुख तथा सूचना प्रविधि प्रमुखलगायत विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव लिएको जनाएको छ। प्राप्त सुझावका आधारमा सर्भेयर छनोटका आधार तथा मापदण्ड निर्धारण गरी सफ्टवेयर विकासको काम अघि बढाइएको हो।
प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीहरूले सर्भेयरसम्बन्धी आवश्यक विवरण प्राधिकरणलाई उपलब्ध गराउनेछन्। प्रारम्भिक चरणमा प्रणालीको कार्यक्षमता र स्थिरतालाई नजिकबाट निगरानी गरिने तथा यसको सुरक्षाका लागि आवश्यक परीक्षणसमेत गरिने प्राधिकरणले जनाएको छ। प्रणालीको सूचना सुरक्षाका लागि फायरवाल तथा भल्नरेबिलिटी एसेसमेन्ट एन्ड पेनिट्रेसन टेस्टिङलगायतका परीक्षण गर्ने तयारी गरिएको छ।
नयाँ प्रणालीले एउटै सर्भेयरलाई पटक–पटक काम दिने तथा अन्य सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्थाको पहिचान र नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सर्भेयर छनोट कुन आधारमा भयो भन्ने विवरणसमेत प्रणालीमा अभिलेख रहने भएकाले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढ्ने प्राधिकरणको विश्वास छ।
प्राधिकरणका अनुसार स्वचालित छनोट प्रणालीले दाबी मूल्याङ्कनका लागि उपयुक्त सर्भेयर छिटो खटाउन सहयोग गर्ने भएकाले समय र लागत घटाउनसमेत योगदान पुग्न सक्छ। सर्भेयर छनोटमा हुने ढिलाइ, पुनः मूल्याङ्कनको आवश्यकता तथा दाबी प्रक्रियासँग सम्बन्धित विवाद न्यूनीकरण गर्न पनि प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।
दीर्घकालमा प्रणालीमार्फत सर्भेयरको काम, कार्यक्षमता, सेवा प्रवाह तथा सेवाग्राहीले प्राप्त गरेको सेवासम्बन्धी पर्याप्त तथ्यांक संकलन हुने प्राधिकरणको भनाइ छ। यस्तो तथ्यांकले सर्भेयरसम्बन्धी नीति तथा नियमन सुधार गर्न तथा सेवा प्रवाहको प्रभावकारिता मूल्याङ्कन गर्न आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ।
प्राधिकरणले भविष्यमा पुनर्बीमा कम्पनीलाई समेत प्रणालीमा समेट्ने योजना बनाएको जनाएको छ। सर्भेयरको विशेषज्ञता, उपलब्धता, भौगोलिक पहुँच, वरिष्ठता र कार्यभारलाई आधार बनाएर स्वचालित छनोट गर्ने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि बीमा दाबी मूल्याङ्कन प्रक्रियामा पारदर्शिता र समान अवसर कायम हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे