
काठमाडौँ । प्रधानमन्त्रीको विदेश भ्रमणअघि र स्वदेश फर्किएपछि भ्रमणका विषयमा प्रतिनिधिसभालाई जानकारी गराउने स्थापित संसदीय परम्परा पालना नगरिएको भन्दै एमाले सांसद टुकाभद्रा हमालले सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद हमालले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसद्लाई जानकारी गराउने अभ्यास रहे पनि पछिल्लो भ्रमणका क्रममा त्यसको पालना नभएको बताइन्।
उनले प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराइएको र भ्रमणबाट स्वदेश फर्किएपछि समेत त्यहाँ भएका भेटवार्ता तथा छलफलका विषयमा प्रतिनिधिसभालाई जानकारी नदिइएको बताइन्।
प्रधानमन्त्रीको विदेश भ्रमण तथा त्यस क्रममा भएका उच्चस्तरीय भेटवार्ता र छलफल सार्वजनिक सरोकारसँग सम्बन्धित विषय भएकाले सदनलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो।
सांसद हमालले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले महत्वपूर्ण विदेश भ्रमणका विषयमा संसद्लाई विश्वासमा लिने तथा भ्रमणका उपलब्धि र छलफलका विषयमा सदनलाई जानकारी गराउने अभ्यास रहेको उल्लेख गर्दै यसतर्फ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले प्रधानमन्त्रीको विदेश भ्रमणसँग सम्बन्धित विषयमा संसद्लाई अनभिज्ञ नराख्न र आवश्यक जानकारी सदनसमक्ष प्रस्तुत गर्न सरकारसँग आग्रह गरिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे