
एजेन्सी । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले भारतको मुम्बईमा आगामी अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेका छन्।
दीपकेले सोमबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत अक्टोबर २ मा मुम्बईस्थित शिवाजी पार्कमा आन्दोलन आयोजना गर्ने जानकारी दिएका हुन्। उनले पोस्टमा ‘मुम्बईमा जेल भरो आन्दोलन, अक्टोबर २, शिवाजी पार्क’ उल्लेख गरेका छन्।
आन्दोलनमार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई पुनः उठाइने दीपकेले बताएका छन्। सीजेपीले मुख्य निर्वाचन आयुक्तविरुद्ध प्रदर्शन गर्नुका साथै मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया तत्काल रोक्न माग गर्दै आएको छ।
त्यस्तै, निर्वाचन आयोगसम्बन्धी कानुनी व्यवस्थामा आवश्यक परिवर्तन गर्नुपर्ने मागसमेत सीजेपीले अघि सारेको छ। मतदाता नामावली र एसआईआर प्रक्रियालाई लिएर आयोगको भूमिकामाथि प्रश्न उठाउँदै सीजेपीले विरोध कार्यक्रम गर्दै आएको हो।
यसैबीच, मुम्बई प्रहरीले शिवाजी पार्कमा सभा आयोजना गर्न अनुमति दिने अधिकार आफ्नो निकायसँग नरहेको जनाएको छ। प्रहरीले बम्बई उच्च अदालतको फैसला तथा त्यसपछि महाराष्ट्र सरकारले जारी गरेका आदेशलाई आधार बनाउँदै शिवाजी पार्कमा सभा आयोजना गर्न वैकल्पिक स्थान खोज्न आयोजकलाई सुझाव दिएको छ।
प्रहरीका अनुसार शिवाजी पार्कमा ठूलो सभा हुँदा ध्वनि प्रदूषण, ट्राफिक जाम तथा सर्वसाधारणको आवतजावतमा अवरोध हुनसक्ने अवस्था देखिएको छ।
प्रदर्शनको अनुमति अस्वीकार गरिएको विषयमा दीपकेले यसअघि नै आपत्ति जनाएका थिए। नागरिकको आवाज रोक्न प्रशासनिक उपाय प्रयोग गर्नु उचित नभएको उनको भनाइ थियो। त्यसपछि उनले अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेका हुन्।
मतदाता नामावलीसम्बन्धी निर्णय र एसआईआर प्रक्रियालाई लिएर भारतको निर्वाचन आयोगमाथि विवाद भइरहेका बेला सीजेपीले आन्दोलन घोषणा गरेको हो। आयोगको आन्तरिक कामकारबाहीमा मतभेद रहेको भन्ने दाबी सार्वजनिक भए पनि निर्वाचन आयोगले भने संस्थागत रूपमा कुनै अवरोध वा संकट नरहेको स्पष्ट पारेको छ।
आयोगले संस्थागत छलफलका क्रममा फरक–फरक धारणा आउनु स्वाभाविक प्रक्रिया भएको बताउँदै प्रमुख निर्णयहरू सर्वसम्मत रूपमा हुने गरेको दाबी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे