
काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंककी अध्यक्ष जोउ जियायीसँग भेटवार्ता गरेका छन्।
दोहामा भएको भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच बढाउन बैंकको सहयोग आवश्यक रहेको बताएका छन्।
भेटका क्रममा अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणका लागि बैंकका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।
अध्यक्ष जोउले परियोजना तयारीका लागि एआईआईबीको ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’मार्फत अनुदान सहायता उपलब्ध गराउन सकिने बताइन्। त्यस्तै, ‘स्पेसलाइज्ड फन्ड विन्डो’अन्तर्गत प्राप्त अनुदान परिचालन गरी नेपाललाई उपलब्ध गराइने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा उनले राखिन्।
एआईआईबीको संस्थापक सदस्य राष्ट्रका रूपमा नेपालको आर्थिक विकासमा बैंकले आगामी दिनमा पनि सहकार्य विस्तार गर्दै जाने प्रतिबद्धता अध्यक्ष जोउले दोहोर्याइन्।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै संस्थापक सदस्य राष्ट्रका रूपमा नेपाललाई एआईआईबीले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले बैंकको लगानीमा सञ्चालन भइरहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे।
त्यस्तै, एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा हालैको बाढीबाट पुगेको क्षतिप्रति अर्थमन्त्री वाग्लेले दुःख व्यक्त गरेका थिए।
अर्थमन्त्री वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायता परिचालनअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासका क्षेत्रमा एआईआईबीको आफ्नै स्रोतसँगै अन्य विकास साझेदारको स्रोतसमेत परिचालन गर्न आग्रह गरे।
भेटवार्ताका क्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणासमेत दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे