
काठमाडौं ।खेल पूर्वाधारको विकास, व्यवस्थापन तथा प्रतियोगिता सञ्चालनमा संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्यको अभाव देखिएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले तीन तहका सरकारबीच सहकार्य र समन्वयको व्यवस्था गरे पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा संस्थागत आधार तयार हुन नसकेको पाइएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४९ मा खेल पूर्वाधारको विकास तथा व्यवस्थापन र खेलकुद प्रतियोगिता सञ्चालनमा संघ, प्रदेश र स्थानीय तहबीच आपसी सहकार्य तथा समन्वय गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, ऐनको दफा ४८ को उपदफा (३) मा खेलकुद पूर्वाधार निर्माण, विकास तथा प्रतियोगिता सञ्चालनका लागि आवश्यकताअनुसार निजी क्षेत्र, गैरसरकारी संस्था, सहकारी तथा सामुदायिक संघसंस्थासँग साझेदारी गर्न सकिने व्यवस्था गरिएको छ ।
तर, तीन तहका सरकारबीच समन्वय र सहकार्यलाई व्यवस्थित गर्ने आवश्यक कानुन निर्माण हुन नसक्दा खेल पूर्वाधार विकासका क्षेत्रमा स्पष्ट कार्यविभाजनको खाका तयार हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्का अनुसार कानुनी तथा संस्थागत समन्वयको अभावमा खेल पूर्वाधार निर्माणमा सार्वजनिक–निजी साझेदारीको अवधारणासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत परिचालन हुन नसक्दा खेलकुदको व्यावसायीकरणमा समेत अपेक्षित प्रगति हुन नसकेको परिषद्ले जनाएको छ । कतिपय प्रदेश तथा स्थानीय तहले परिषद्को स्वीकृति तथा प्रचलित कानुनी व्यवस्थाको प्रभावकारी समन्वयबिना आ–आफ्नै ढंगले खेल पूर्वाधार निर्माण गरेका छन् । यसका कारण प्रदेश तथा स्थानीय तहले निर्माण गरेका खेल संरचना र त्यहाँ सञ्चालन हुने प्रतियोगिताबारे राष्ट्रिय खेलकुद परिषद् नै पूर्ण रूपमा जानकार हुन नसक्ने अवस्था देखिएको छ ।
त्यसैगरी, संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय तथा कार्यविभाजनको खाका नहुँदा राष्ट्रिय खेलकुद परिषद्बाट निर्माण भएका केही खेल पूर्वाधार प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नसमेत समस्या भएको परिषद्ले जनाएको छ । खेल पूर्वाधार निर्माणदेखि सञ्चालन, व्यवस्थापन, मर्मतसम्भार तथा उपयोगसम्म तीन तहका सरकारको भूमिका स्पष्ट नहुँदा निर्माण भएका संरचनाको प्रभावकारी उपयोगमा समेत चुनौती देखिएको छ ।
निर्मित खेल पूर्वाधारको उपयोगमा पनि असमानता
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ९ ले राष्ट्रिय खेलकुद परिषद्लाई खेल पूर्वाधार निर्माण, व्यवस्थापन तथा मर्मतसम्भार गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना तथा सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । साथै, अन्तरप्रदेश, प्रदेश तथा स्थानीय तहमा खेलकुदको सञ्चालन, विकास तथा पूर्वाधार विकासका लागि प्रदेश सरकार र स्थानीय तहसँग समन्वय, सहयोग तथा सहकार्य गर्नुपर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।
उपलब्ध विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा कीर्तिपुर क्रिकेट मैदान, मूलपानी क्रिकेट रङ्गशाला र दशरथ रङ्गशालामा राष्ट्रियस्तरका ११ वटा प्रतियोगिता सञ्चालन भएका थिए । त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्तर्राष्ट्रियस्तरका ४ तथा राष्ट्रियस्तरका १० प्रतियोगिता सञ्चालन भएका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा काठमाडौं जिल्ला खेल विकास समितिले १५औँ काठमाडौं जिल्ला राष्ट्रपति शिल्ड उसु छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यस्तै, च्यासल फुटबल मैदानमा खेलकुद प्रतियोगिताबाहेक एक सांगीतिक कार्यक्रमसमेत सञ्चालन भएको देखिएको छ ।
तर, काठमाडौं उपत्यकाबाहिर निर्माण भएका खेल पूर्वाधार संरचनाको उपयोगसम्बन्धी तथ्याङ्क भने परिषद्बाट उपलब्ध हुन नसकेको उल्लेख गरिएको छ । यसले निर्माण भएका खेल संरचनाको उपयोग, संरक्षण तथा व्यवस्थापनको अवस्थाबारे एकीकृत अभिलेख र अनुगमन प्रणालीको आवश्यकता देखाएको छ ।
कानुनअनुसार निर्मित खेल संरचनाको रेखदेख, संरक्षण तथा उपयोगको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्मा रहेकाले परिषद्ले प्रदेश तथा स्थानीय तहमा निर्माण भएका खेल पूर्वाधारको समेत एकीकृत लगत अद्यावधिक गर्नुपर्ने देखिएको छ । निर्माण भएका संरचनालाई नियमित रूपमा उपयोगमा ल्याउने, संरक्षण तथा मर्मतसम्भार गर्ने र आवश्यकताअनुसार प्रतियोगिता तथा अन्य खेल गतिविधिका लागि उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
खेल पूर्वाधारको दिगो विकासका लागि लगानी, जग्गा उपलब्धता, निर्माण, सञ्चालन, मर्मतसम्भार तथा संरचनाको उपयोगबाट प्राप्त लाभको बाँडफाँटलगायतका विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको देखिन्छ । साथै, निजी क्षेत्रको लगानी आकर्षित गरी सार्वजनिक–निजी साझेदारीको अवधारणामा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र व्यवस्थापन गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिएको छ । तीन तहका सरकारबीच स्पष्ट कार्यविभाजन, समन्वय र सहकार्यको संयन्त्र निर्माण गरी निर्माण भएका संरचनाको अधिकतम उपयोग गर्न सके खेल पूर्वाधारमा भएको लगानीको प्रतिफल बढाउन सकिने देखिन्छ ।
नेपालमा खेलकुद पूर्वाधार निर्माण भइरहे पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका संरचना तथा आवश्यक सुविधा पर्याप्त नहुँदा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न समस्या देखिएको छ । सम्बन्धित अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूले खेलको प्रकृति र प्रतियोगिताको स्तरअनुसार मैदान तथा खेल संरचनाका न्यूनतम मापदण्ड निर्धारण गरी सोही आधारमा प्रतियोगिता सञ्चालनको अनुमति दिने गरेका छन् ।
अन्तर्राष्ट्रिय फुटबल महासंघले फुटबल, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले क्रिकेट, अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले एथलेटिक्स तथा अन्तर्राष्ट्रिय पौडी महासंघले पौडी खेलका लागि आवश्यक पूर्वाधार र संरचनाको मापदण्ड निर्धारण गरेका छन् । ती मापदण्ड पूरा भएका खेल मैदान तथा संरचनालाई सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट मान्यता प्राप्त भएपछि मात्रै नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सहज हुने व्यवस्था रहेको छ ।
नेपालमा हाल ७ अन्तर्राष्ट्रियस्तर, ४ राष्ट्रियस्तर र ४ क्षेत्रीयस्तर गरी १५ वटा क्रिकेट रङ्गशाला निर्माणाधीन अवस्थामा रहेका छन् । तीमध्ये मूलपानी क्रिकेट रङ्गशाला र कीर्तिपुर क्रिकेट रङ्गशाला न्यूनतम अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएका संरचनाका रूपमा रहेका छन् । तर, नेपालमा रहेका क्रिकेट रङ्गशालाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट औपचारिक मान्यता प्राप्त गर्न भने बाँकी रहेको छ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एसोसिएट सदस्य राष्ट्रका रूपमा २०७४ चैत ४ गते एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मान्यता प्राप्त गरेको थियो । यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले तोकेको न्यूनतम मापदण्डअनुसारका खेल पूर्वाधारको अभावका कारण नेपालमा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता पर्याप्त रूपमा आयोजना हुन सकेका छैनन् । हालसम्म नेपालमा एक मात्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता अर्थात् क्रिकेट विश्वकप लिग सञ्चालन भएको उल्लेख गरिएको छ । नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भने सम्बन्धित निकायबाट अस्थायी मान्यता प्रदान गरी प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
यसैगरी, नेपालमा एकवटा फुटबल रङ्गशाला निर्माण सम्पन्न भइसकेको छ भने २१ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन तथा निर्माण सम्पन्न रङ्गशालामध्ये ७ अन्तर्राष्ट्रियस्तर, ७ राष्ट्रियस्तर र ८ क्षेत्रीयस्तरका रहेका छन् । नेपाल अन्तर्राष्ट्रिय फुटबल महासंघ तथा एसियाली फुटबल महासंघजस्ता अन्तर्राष्ट्रिय संस्थाको एसोसिएट सदस्य राष्ट्र भए पनि हालसम्म नेपालका कुनै पनि फुटबल रङ्गशालाले सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट औपचारिक मान्यता प्राप्त गर्न सकेका छैनन् ।
नेपालमा समय–समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता सञ्चालन हुँदै आए पनि आवश्यक पूर्वाधार तथा सुविधाको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको छ । दशरथ रङ्गशालामा लाउन्ज, मेडिकल तथा चेन्जिङ रुम, मिडिया सेन्टर, प्रि–म्याच तथा पोस्ट–म्याच सम्मेलन कक्ष, सुरक्षा व्यवस्था, भीभीआईपी कक्ष, मैदानको घाँस तथा शौचालयलगायतका न्यूनतम पूर्वाधार उपलब्ध भए पनि अन्य रङ्गशालामा यस्ता आवश्यक सुविधा पर्याप्त रूपमा उपलब्ध नरहेको जनाइएको छ ।
परिषद्का अनुसार नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका लागि सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले प्रतियोगिता सञ्चालनपूर्व मैदानको मूल्याङ्कन तथा निरीक्षण गरी आवश्यकताअनुसार मौखिक रूपमा अनुमति दिने गरेको छ । औपचारिक अन्तर्राष्ट्रिय मान्यता प्राप्त नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता पर्याप्त मात्रामा आयोजना गर्न कठिनाइ हुँदै आएको छ ।
त्यसैले नेपालमा अन्तर्राष्ट्रिय खेलकुदको विस्तार र नियमित रूपमा ठूला प्रतियोगिता आयोजना गर्न मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा सम्बन्धित खेल संघसंस्थाले अन्तर्राष्ट्रिय संस्थाले तोकेका मापदण्डअनुसार खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने देखिएको छ । आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरी सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट औपचारिक मान्यता प्राप्त गर्न सके नेपालमा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको आयोजना र खेल पर्यटनको विकासलाई समेत थप गति दिन सकिने अपेक्षा गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे