
काठमाडौं। पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै पुनर्निर्माणका लागि आवश्यक रकमबारे जानकारी गराएका हुन्।
मन्त्रालयको प्रारम्भिक मूल्याङ्कनअनुसार विपद्बाट सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। निजी तथा सार्वजनिक गरी ७ हजार ५७० वटा निजी भवन र ४८ वटा सार्वजनिक भवनमा गरी करिब १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।
त्यस्तै, सडक सञ्जालमा करिब २० अर्ब रुपैयाँ, मोटरेबल पुलमा १३ अर्ब ८० करोड, झोलुंगे पुलमा २ अर्ब ६५ करोड तथा खानेपानी र सरसफाइका संरचनामा ८७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन छ।
सचिव मैनालीले कुल क्षति करिब १.४८ अर्ब अमेरिकी डलर अर्थात् झन्डै २ खर्ब २७ अर्ब रुपैयाँ बराबर पुगेको जानकारी दिँदै क्षतिको यकिन विवरण विस्तृत मूल्याङ्कनपछि मात्र आउने बताए। उनका अनुसार विपद्बाट भएको क्षतिको ठूलो आकारले जलवायु न्यायअन्तर्गत नेपालले प्राप्त गर्ने वैदेशिक सहयोग र पुनर्निर्माणका स्रोत व्यवस्थापनका विषयमा समेत थप ध्यान दिनुपर्ने अवस्था देखाएको छ।
मन्त्रालयले सडक तथा यातायात सम्पर्क पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ। क्षतिग्रस्त २० वटा झोलुंगे पुलमध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको सचिव मैनालीले जानकारी दिए। बेत्रावती क्षेत्रमा बेलिब्रिज निर्माण भइरहेको तथा धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म सडक सम्पर्क पुनःस्थापना गर्ने काम अघि बढिरहेको उनले बताए।
त्रिशूली करिडोरअन्तर्गत अवरुद्ध सडक तथा पुलको पुनःस्थापनालाई पनि प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। कनेक्टिभिटी पुनःस्थापनाका लागि आवश्यक स्थान पहिचान गरी निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइएको सचिव मैनालीको भनाइ छ।
विपद्बाट घरबारविहीन भएका परिवारका लागि तत्काल करिब ३०० वटा अस्थायी आवास निर्माण गर्ने तयारीसमेत भइरहेको छ। दसैँअघि नै त्यस्ता अस्थायी आवास निर्माण गर्ने लक्ष्यसहित डिजाइन तथा निर्माणको तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ।
सचिव मैनालीले राहत र पुनर्निर्माणलाई तत्कालीन आवश्यकतामा मात्र सीमित नगरी दीर्घकालीन योजनाका आधारमा अघि बढाउनुपर्ने बताए। उनका अनुसार विपद्पछिको प्रारम्भिक प्रतिकार्य, पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले तत्काल करिब ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे