
काठमाडौँ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि लगातार भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सबै अस्पताललाई उपचार सेवा कुनै पनि अवस्थामा नरोक्न आग्रह गरेको छ। मन्त्रालयले दोषीलाई कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढिसकेको भन्दै बिरामीको उपचार नियमित रूपमा जारी राख्न अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि कुटपिट तथा दुर्व्यवहारका घटना बढ्दै गएकाले यस विषयलाई गम्भीर रूपमा लिइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायले काम गरिरहेको पनि मन्त्रालयले जनाएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घाइते डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाएकी थिइन्। उनले ट्रमा सेन्टर पुगेर चिकित्सकको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन पनि दिएकी छन्।
मन्त्रालयले स्वास्थ्य सेवा जीवनरक्षक र अत्यावश्यक सेवा भएकाले कुनै पनि कारणले उपचारमा अवरोध हुन नहुने स्पष्ट पारेको छ। साथै, स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको संरक्षण गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे