
काठमाडौं। देशभरका विद्यालयहरूको शैक्षिक गुणस्तर तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि अपेक्षाअनुसार सुधार हुन नसकेको पाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालन गरिएको सिकाइ उपलब्धि परीक्षणले विद्यालय शिक्षाको गुणस्तर कमजोर रहेको देखाएको हो।
शिक्षा ऐन, २०२८ अनुसार विद्यालयहरूको गुणस्तर परीक्षण गर्ने व्यवस्था भए पनि देशभर रहेका ३५ हजार ४४७ विद्यालयमध्ये विगत १४ वर्षको अवधिमा कक्षा ३, ५, ८ र १० का विद्यार्थीहरूको मात्र राष्ट्रिय स्तरमा सिकाइ उपलब्धि परीक्षण गरिएको उल्लेख छ। सीमित परीक्षण र न्यून मूल्याङ्कनका कारण विद्यालय शिक्षाको वास्तविक अवस्था प्रभावकारी रूपमा मूल्याङ्कन हुन नसकेको देखिएको छ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०८१ सालमा कक्षा १० का विद्यार्थीहरूको सिकाइ उपलब्धि परीक्षण सम्पन्न गरेको थियो। उक्त परीक्षणअनुसार गणित विषयमा २० दशमलव ४ प्रतिशत, विज्ञान तथा प्रविधिमा २९ दशमलव ४ प्रतिशत, नेपालीमा २५ दशमलव ९ प्रतिशत तथा अंग्रेजी विषयमा १२ दशमलव २ प्रतिशत विद्यार्थी कक्षा तहभन्दा तल रहेको पाइएको छ।
सिकाइ उपलब्धिको स्तर कमजोर देखिएको भन्दै विद्यालय शिक्षामा गुणात्मक सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ। विद्यार्थीहरूको आधारभूत सिकाइ क्षमता कमजोर बन्दै गएको संकेत देखिएकाले पाठ्यक्रम कार्यान्वयन, शिक्षण विधि, शिक्षक क्षमता विकास तथा नियमित मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
शैक्षिक गुणस्तर सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्न, नियमित राष्ट्रिय परीक्षण विस्तार गर्न तथा विद्यार्थीको वास्तविक सिकाइ उपलब्धि मापन गर्ने प्रणालीलाई सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे