
काठमाडौं । एक वर्षअघि काठमाडौँका सडकमा हजारौँ युवा हातमा प्लेकार्ड र मोबाइल बोकेर परिवर्तनको माग गर्दै सडकमा उत्रिएका थिए। सुरुमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको जेनजी आन्दोलन पछि भ्रष्टाचार, बेरोजगारी, नातावाद, महँगी, कमजोर सार्वजनिक सेवा र राजनीतिक नेतृत्वको कार्यशैलीविरुद्धको ठूलो आवाज बन्यो।
डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र थिएन। सूचना पाउने, आफ्नो विचार राख्ने, पढाइ, व्यवसाय र रोजगारीसँग जोडिने महत्वपूर्ण माध्यम पनि थियो। त्यसैले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई युवाले आफ्नो अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए।
भदौ २३ र २४ गते भएको प्रदर्शनमा देशका विभिन्न ठाउँबाट युवा सहभागी भए। आन्दोलनका क्रममा केही युवाले ज्यान गुमाए। उनीहरूको सम्झनामा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
जेनजी पुस्ताको असन्तुष्टि भने एकैदिन पैदा भएको थिएन। लामो समयदेखिको बेरोजगारी, विदेशिनुपर्ने बाध्यता, भ्रष्टाचार, राजनीतिक पहुँच र अवसरको असमानताले युवामा निराशा बढाएको थियो।
आन्दोलनपछि सुशासन, पारदर्शिता र राजनीतिक जवाफदेहिताको विषय अझै महत्वपूर्ण बनेको छ। पछिल्लो निर्वाचनमा नयाँ राजनीतिक शक्तिले पाएको बलियो जनादेशलाई पनि धेरैले युवाको परिवर्तनको चाहनासँग जोडेर हेरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे