
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सरकार चलाउने शैली र व्यवहार सुधार गर्न सुझाव दिएकी छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार कार्कीले राजनीतिक स्थायित्व संसद्को बहुमतले मात्र नहुने बताइन्। उनका अनुसार सरकारमा रहेका नेताको चरित्र, काम गर्ने शैली र सुशासनले सरकार कति स्थिर हुन्छ भन्ने निर्धारण गर्छ।
गत वर्ष जेनजी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संसद्को दुई तिहाइ बहुमतसहित सरकारमा थिए। तर, उनको कार्यशैलीप्रति असन्तुष्टि बढेपछि आन्दोलन चर्किएको थियो। अहिले बालेन पनि दुई तिहाइ बहुमतसहित सरकारमा रहेकाले विगतबाट पाठ सिक्नुपर्ने संकेत कार्कीले गरेकी छन्।
कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन, कानुनको पालना र नागरिकको सम्मानलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेकी छन्।
उनले गत वर्षको आन्दोलनका क्रममा धेरै युवाको ज्यान गएको, निजी तथा सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको र महत्वपूर्ण सम्पदा नष्ट भएको पनि स्मरण गरेकी छन्।
यस्ता घटना फेरि नदोहोरिऊन् भन्न सरकार जिम्मेवार र सचेत हुनुपर्ने उनको भनाइ छ। जनताले आफ्ना माग पूरा गराउन फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सरकार गम्भीर हुनुपर्ने कार्कीले बताएकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे