
काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिकाको फोहोर संकलन तथा ढुवानी सेवा प्रभावित हुने भएको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले फोहोर विसर्जनस्थलमा देखिएको प्राकृतिक तथा प्राविधिक समस्याका कारण नियमित रूपमा हुँदै आएको फोहोर व्यवस्थापन केही समय प्रभावित हुने जनाएको हो।
महानगरपालिकाका अनुसार निरन्तरको वर्षासँगै विभिन्न स्थानमा बाढी तथा पहिरोको समस्या देखिएको छ। यसको प्रत्यक्ष प्रभाव काठमाडौं उपत्यकाबाट फोहोर विसर्जन हुँदै आएको ल्यान्डफिल साइटमा समेत परेको छ।
ल्यान्डफिल साइटमा पहिरो जानुका साथै माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर विसर्जनमा समस्या भएको महानगरले जनाएको छ। लेदो र माटो थुप्रिँदा फोहोर बोकेका सवारीसाधनलाई ल्यान्डफिल साइटसम्म पुग्न तथा त्यहाँ फोहोर विसर्जन गर्न कठिनाइ भइरहेको छ।
प्राकृतिक तथा प्राविधिक कठिनाइका कारण फोहोरको नियमित संकलन र ढुवानी सेवा अनिश्चित समयसम्म प्रभावित हुन सक्ने महानगरपालिकाले स्पष्ट पारेको छ। सेवा नियमित नभएसम्म सर्वसाधारणलाई आफ्नो घर, पसल, व्यवसाय वा परिसरबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थान, खुला क्षेत्र तथा खोलानालामा नफाल्न महानगरले आग्रह गरेको छ।
महानगरले फोहोर संकलन नियमित नहुन्जेल सम्भव भएसम्म घर वा आफ्नै परिसरभित्र फोहोर सुरक्षित रूपमा भण्डारण गरेर राख्न अनुरोध गरेको छ। फोहोर व्यवस्थापन सहज बनाउन सड्ने तथा नसड्ने फोहोर छुट्टाछुट्टै राख्नसमेत आग्रह गरिएको छ।
वर्षाका कारण सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्दा पानी निकास हुने ढल तथा नाला थुनिन सक्ने र त्यसबाट बाढी तथा डुबानको जोखिम थप बढ्न सक्ने महानगरले जनाएको छ। त्यसैले प्रतिकूल मौसमको अवस्थामा फोहोर व्यवस्थापनमा थप सावधानी अपनाउन महानगरले नगरवासीलाई अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे