
काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीको एकाधिकार कायम गर्न खोजिएको विवाद चर्किएपछि वैदेशिक रोजगार विभागले २५ वटा मुख्य म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान सुरु गरेको छ। विभागले अनुसन्धान अधिकृत नियुक्त गरी सम्बन्धित कम्पनीहरूको संलग्नता, छनोट प्रक्रिया तथा सम्भावित कानुनविपरीत गतिविधिबारे छानबिन अघि बढाएको हो।
मलेसियाले विदेशी श्रमिक भर्नाका लागि कार्यान्वयनमा ल्याएको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीअन्तर्गत नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य र अन्य २५० कम्पनीलाई सहायक एजेन्सीका रूपमा सूचीकृत गरेको छ। उक्त सूचीमा रहेका कम्पनीमार्फत मात्रै नेपाली श्रमिक भर्ना गर्ने मलेसियाको व्यवस्थाले नेपालको वैदेशिक रोजगार क्षेत्रमा प्रतिस्पर्धा सीमित हुने भन्दै विवाद उत्पन्न भएको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालका अनुसार प्रारम्भिक चरणमा सम्बन्धित कम्पनीहरूसँग मागिएको लिखित स्पष्टीकरण अध्ययन गरेपछि थप अनुसन्धान आवश्यक देखिएकाले अनुसन्धान अधिकृत तोकिएको हो। अनुसन्धान अधिकृतले कम्पनीका सञ्चालक तथा प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्ने, बयान लिने र आवश्यक प्रमाण संकलन गर्नेलगायतका प्रक्रिया अघि बढाउनेछन्।
विभागले वैदेशिक रोजगार ऐनको दफा ६१ अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। अनुसन्धानबाट प्राप्त तथ्य तथा प्रमाणका आधारमा सम्बन्धित कम्पनीमाथि थप कानुनी कारबाही गर्ने वा नगर्ने निर्णय गरिनेछ।
मुख्य एजेन्सीका रूपमा सूचीकृत २५ कम्पनीमाथि विस्तृत अनुसन्धान सुरु भए पनि सहायक एजेन्सीका रूपमा रहेका २५० म्यानपावर कम्पनीमाथि भने प्रारम्भिक प्रशासनिक सोधपुछ जारी छ। विभागले ती कम्पनीबाट प्राप्त स्पष्टीकरण अध्ययन गरिरहेको र आवश्यकताअनुसार थप अनुसन्धानको दायरामा ल्याइने जनाएको छ।
विभागले यसअघि मुख्य तथा सहायक एजेन्सीका रूपमा सूचीकृत कम्पनीहरूलाई मलेसियाको छनोट प्रक्रियामा उनीहरूको संलग्नता, सूचीकरणको आधार तथा खुला प्रतिस्पर्धालाई प्रभावित पार्न सक्ने गतिविधिबारे लिखित जवाफ मागेको थियो।
मलेसियाले सीमित एजेन्सीमार्फत मात्रै नेपाली श्रमिक भर्ना गर्ने व्यवस्था अघि बढाएपछि नेपाल सरकारले समेत उक्त प्रक्रियाप्रति असहमति जनाएको थियो। नेपालले कूटनीतिक नोट पठाउँदै श्रमिक भर्ना प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता सुनिश्चित गर्नुपर्ने विषय उठाएको थियो।
तर, मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीबाहेक अन्य माध्यमबाट नेपाली श्रमिक भर्ना नगर्ने जवाफ पठाएपछि दुई देशबीचको श्रम व्यवस्थापनसम्बन्धी विवाद थप जटिल बनेको छ।
यसैबीच, श्रम मन्त्रालयले उत्पन्न समस्या समाधानका लागि कूटनीतिक तथा प्राविधिक तहमा छलफल अघि बढाएको छ। मन्त्रालयका प्रवक्ता मिरा आचार्यका अनुसार सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासँग विभिन्न विकल्पबारे परामर्श भइरहेको छ।
मन्त्रालयले नेपाल–मलेसिया संयुक्त प्राविधिक समितिको बैठक यथाशीघ्र आयोजना गर्ने तयारीसमेत गरेको छ। यसअघि बैठकका लागि नेपालले गरेको आग्रहमा मलेसियाबाट प्रतिक्रिया नआएपछि अब नेपालले नै बैठकको मिति प्रस्ताव गरेर पठाउने गृहकार्य अघि बढाएको हो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने मलेसियाको पछिल्लो व्यवस्थाप्रति कडा आपत्ति जनाएको छ। संघका अध्यक्ष डिकबहादुर खत्रीले सीमित व्यवसायीलाई मात्रै श्रमिक पठाउने अधिकार दिने व्यवस्थाले नेपाली श्रमिकमाथि आर्थिक शोषणको जोखिम बढाउने भन्दै यस विषयलाई अन्तर्राष्ट्रिय स्तरमै उठाउनुपर्ने बताएका छन्।
उनले मलेसियाको व्यवस्थालाई नेपाली श्रमिक र वैदेशिक रोजगार व्यवसायीको हितविपरीत भएको टिप्पणी गर्दै यस्तो प्रणाली स्वीकार गर्न नसकिने धारणा राखेका छन्।
मलेसियाको नयाँ श्रमिक भर्ना प्रणालीलाई लिएर उत्पन्न विवादले नेपालको वैदेशिक रोजगार व्यवसायमा खुला प्रतिस्पर्धा, श्रमिकको छनोट स्वतन्त्रता तथा वैदेशिक रोजगारीमा लाग्ने लागतका विषयमा समेत प्रश्न उठाएको छ। विभागको अनुसन्धानबाट सूचीकृत कम्पनीहरूको वास्तविक भूमिका र छनोट प्रक्रियाको वैधानिकता स्पष्ट हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे