
एजेन्सी। दक्षिण कोरियाका वैज्ञानिकहरूले आन्द्राको क्यान्सर (कोलोन क्यान्सर) भएका कोषहरूलाई नष्ट नगरी पुनः स्वस्थ अवस्थातर्फ फर्काउन सकिने सम्भावनाबारे नयाँ अनुसन्धान गरेका छन्। यस खोजले क्यान्सर उपचारको परम्परागत विधिभन्दा फरक उपचार पद्धतिको विकासमा नयाँ बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ।
दक्षिण कोरियाको कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (काइस्ट) अन्तर्गत बायो एन्ड ब्रेन इन्जिनियरिङ विभागका प्राध्यापक क्वाङ–ह्युन चोको नेतृत्वमा अनुसन्धान गरिएको हो। सोल नेसनल युनिभर्सिटीसँगको सहकार्यमा गरिएको अनुसन्धानका नतिजा सन् २०२४ को अन्त्यदेखि २०२५ को सुरुवातसम्म ‘एड्भान्स्ड साइन्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएका थिए।
अनुसन्धानमा वैज्ञानिकहरूले क्यान्सर कोषलाई सिधै नष्ट गर्नुको सट्टा त्यसको आनुवंशिक प्रणालीमा परिवर्तन गरेर सामान्य कोषको अवस्थामा फर्काउने उपाय खोजेका हुन्। यसका लागि कम्प्युटरमा आधारित उन्नत नमुना र एकल कोषको आरएनए तथ्यांक प्रयोग गरी आन्द्राका कोषहरूमा सक्रिय जीनहरूको सञ्जालको डिजिटल प्रतिरूप तयार गरिएको थियो। उक्त प्रणालीलाई ‘बेनेइन’ (BENEIN) र ‘रिभर्ट’ (REVERT) नाम दिइएको छ।
अनुसन्धानका क्रममा स्वस्थ आन्द्राका कोषहरू कसरी क्यान्सरयुक्त अवस्थामा परिवर्तन हुन्छन् भन्ने अध्ययन गर्दै वैज्ञानिकहरूले एमवाईबी (MYB), एचडीएसी२ (HDAC2), एफओएक्सए२ (FOXA2) र यूएसपी७ (USP7) गरी चारवटा प्रमुख आनुवंशिक संकेत पहिचान गरेका थिए। यी जीनहरूले कोषलाई अपरिपक्व अवस्थामा राख्न र तीव्र रूपमा वृद्धि तथा विभाजन हुन सहयोग गर्ने अनुसन्धानले देखाएको छ।
वैज्ञानिकहरूले प्रयोगशाला परीक्षण, बिरामीबाट प्राप्त कोषबाट विकसित गरिएका अर्गानोइड र मुसामा गरिएको परीक्षणमार्फत यी जीनहरूको गतिविधि नियन्त्रण गर्दा क्यान्सर कोषमा परिवर्तन ल्याउन सकिने देखाएका छन्। यस प्रक्रियाबाट कोषहरूमा सामान्य जैविक सञ्चार प्रणाली पुनः सक्रिय हुनुका साथै परिपक्व स्वस्थ कोषजस्तै व्यवहार विकास भएको पाइएको छ।
अनुसन्धानले क्यान्सर उपचारमा नयाँ सम्भावना देखाए पनि यो विधि तत्कालै मानवमा प्रयोग गर्न सकिने उपचारका रूपमा स्थापित भइसकेको छैन। यसको प्रभावकारिता र सुरक्षाबारे थप अनुसन्धान तथा चिकित्सकीय परीक्षण आवश्यक हुनेछ। यद्यपि, क्यान्सर कोषलाई मार्नेभन्दा त्यसलाई पुनः सामान्य अवस्थामा फर्काउने अवधारणाले भविष्यमा क्यान्सर उपचारको दृष्टिकोण नै परिवर्तन गर्न सक्ने वैज्ञानिकहरूको अपेक्षा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे