
काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माण भइरहेको महादेवटार सुरुङको बुधबार ब्रेक थ्रु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङ छिचोलिएको हो। कार्यक्रममा पूर्वाधारमन्त्री सुनिल लम्साल र प्रधानसेनापति अशोकराज सिग्देल पनि सहभागी थिए।
महादेवटारमा दुईवटा सुरुङ निर्माण भइरहेका छन्। तीमध्ये ३.४४५ किलोमिटर लामो सुरुङ बुधबार छिचोलिएको हो। अर्को ३.४८६ किलोमिटर लामो सुरुङको यसअघि नै ब्रेक थ्रु भइसकेको थियो।
खोकनादेखि निजगढसम्म ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमा सातवटा सुरुङ निर्माण हुँदैछन्। तर, नौ वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशत मात्रै छ।
जग्गा विवाद, रुख कटान र निर्माणमा ढिलाइ हुँदा आयोजना सम्पन्न गर्ने समय पटक–पटक सारिएको छ। पछिल्लो समयसीमा २०८६ चैत तोकिएको छ। त्यस्तै, ८९ पुलमध्ये पाँचवटा निर्माण सम्पन्न भएका छन् भने खोकना क्षेत्रमा जग्गा अधिग्रहण र चार पुलको ठेक्का प्रक्रिया अझै बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे