
काठमाडौं । काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा ११औँ स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले सार्वजनिक गरेको आज बिहानको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ पुगेको हो।
बिहान ५ देखि ६ बजेसम्म गरिएको मापनमा काठमाडौंको वायु गुणस्तर १५८ एक्यूआई कायम भएको देखिएको छ। उक्त स्तरलाई जनस्वास्थ्यका दृष्टिले अस्वस्थकर मानिन्छ। वायु प्रदूषणको यो तहले विशेषगरी संवेदनशील समूहका व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने जोखिम रहन्छ।
आईक्यूएयरको तथ्यांकअनुसार विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर पहिलो स्थानमा रहेको छ। लाहोरको एक्यूआई २७० पुगेको छ। त्यस्तै, २१९ एक्यूआईसहित बंगलादेशको ढाका दोस्रो र १९८ एक्यूआईसहित भारतको कोलकाता तेस्रो स्थानमा छन्।
अफगानिस्तानको काबुल १८४ एक्यूआईसहित चौथो स्थानमा रहँदा भारतको दिल्ली पाँचौँ र इन्डोनेसियाको जकार्ता छैटौँ स्थानमा रहेका छन्। त्यसैगरी, पाकिस्तानको कराँची प्रदूषित सहरको सूचीमा दसौँ स्थानमा परेको छ।
काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेपछि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक देखिएको छ। जनस्वास्थ्यविद्हरूले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दम, खोकीलगायत श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन समस्या भएका व्यक्तिलाई प्रदूषित हावाको प्रत्यक्ष सम्पर्कबाट जोगिन सुझाव दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे