
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वैकल्पिक आवासको सुनिश्चितता नगरी सुकुम्बासी परिवारलाई आश्रयस्थलबाट हटाउने निर्णय स्थगित गर्न सरकारसँग आग्रह गरेका छन् ।
भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई उक्त स्थान खाली गर्न निर्देशन दिइएकोप्रति आपत्ति जनाउँदै घिसिङले यस्तो आग्रह गरेका हुन् ।
काठमाडौँ उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका परिवारलाई जाडोको मौसममा पुनः सुरक्षित आवासको सुनिश्चितताबिना हटाउनु उचित नहुने उनको भनाइ छ । आश्रयस्थलमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्था र आवश्यकतालाई विशेष संवेदनशीलताका साथ सम्बोधन गर्नुपर्ने उनले बताएका छन् ।
घिसिङले भूमिहीन तथा सुकुम्बासी समस्याको समाधान विस्थापन मात्रै नभएको उल्लेख गर्दै प्रभावित परिवारको उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।
वैकल्पिक आवासको व्यवस्था नहुँदासम्म आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न, प्रभावित परिवारका आधारभूत आवश्यकताको सुनिश्चितता गर्न र समस्याको दीर्घकालीन तथा न्यायपूर्ण समाधान खोज्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे