
काठमाडौं। यस वर्षको बडादसैँअन्तर्गत विजयादशमीको टीकाको उत्तम साइत ४ कात्तिक बुधबार बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार विजयादशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरेपछि बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सकिनेछ। टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ।
समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर नै टीका लगाउन सकिने भए पनि शुभ साइतमै टीका लगाउन चाहनेका लागि १०ः२६ बजेको साइत निर्धारण गरिएको हो। राज्य सञ्चालकले भने समितिले निर्धारण गरेको साइतमै मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्नुपर्ने उनले बताए।
नेपालका विभिन्न क्षेत्रमा दसैँको टीका कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्ने परम्परा रहे पनि केही स्थानमा विजयादशमीकै दिन मात्र टीका लगाउने चलन छ।
२५ असोजमा घटस्थापना
यस वर्ष २५ असोज आइतबारदेखि नवरात्र प्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ११ः४७ बजे रहेको छ।
यस दिन चित्रा नक्षत्र र वैधृति योगसमेत पर्ने भएकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिले जनाएको छ।
त्यसैगरी, २६ असोजमा बिहान १०ः०७ बजे झण्डा फेर्ने साइत उत्तम रहेको छ। झण्डा फेर्दा पनि पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ।
२९ असोज बिहीबार पचलीभैरव यात्रा, ३१ असोज शनिबार फूलपाती परेको छ। फूलपातीका दिन बिहान ७ः३७ बजे तुलजा भवानी यात्राको साइत रहेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजे रहेको समितिले जनाएको छ।
महाअष्टमीदेखि महानवमीसम्म विभिन्न पर्व
१ कात्तिक आइतबार महाअष्टमी पर्व परेको छ। सोही दिन राति कालरात्रि पर्व मनाइनेछ। २ कात्तिक सोमबार पनि अष्टमी तिथि परेको छ भने ३ कात्तिक मंगलबार महानवमी पर्व मनाइनेछ।
४ कात्तिक बुधबार विजयादशमी परेको छ। दसैँको मुख्य दिन मानिने विजयादशमीमा बिहान ८ः४९ बजे देवी विसर्जन गर्ने साइत रहेको छ। त्यसपछि बिहान १०ः२६ बजे टीका लगाउने उत्तम साइत निर्धारण गरिएको हो।
विजयादशमीकै दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत रहेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत ११ः५२ बजे रहेको समितिले जनाएको छ। यसै दिन खड्गयात्रा पनि हुनेछ।
८ कात्तिकमा दुर्गा पक्ष समापन
समितिका अनुसार ८ कात्तिक आइतबार सबै बलिपूर्ति गर्नुपर्नेछ। सोही दिन कोजाग्रत व्रत तथा पूर्णिमा व्रत पनि परेको छ। बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरेपछि करिब १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुनेछ।
९ कात्तिक सोमबार कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ।
नेपालमा राष्ट्रिय पर्वका रूपमा मनाइने बडादसैँमा देशभर उल्लासको वातावरण हुने गर्दछ। विभिन्न पेसा, व्यवसाय तथा रोजगारीका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न घर फर्कने गर्छन्।
दसैँमा विशेषगरी नवदुर्गा भवानीको पूजा तथा आराधना गर्ने परम्परा छ। यस अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ भने कतिपय शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने परम्परा पनि रहेको छ।
दसैँ नजिकिएसँगै बजारमा समेत चहलपहल बढ्ने गरेको छ। सरकारले पर्वका अवसरमा उपभोक्तालाई सहुलियतमा खाद्यवस्तु उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।
दसैँलाई बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने तथा नयाँ कपडा लगाउने र मीठो खाने पर्वका रूपमा समेत मनाउने गर्छन्। बालबालिकाका लागि विशेष उल्लासको पर्व मानिने दसैँमा प्रौढहरूले भने पूजा, उपासना तथा पारिवारिक जमघटका माध्यमबाट पर्व मनाउने परम्परा रहिआएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे