
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी नाकाबाट नेपाल–चीन व्यापारिक आवागमन प्रभावित भएपछि चीनको केरुङमा भण्डारण गरिएका ४०० कन्टेनरभन्दा बढी व्यापारिक सामान वैकल्पिक मार्ग हुँदै कोरला नाकाबाट नेपाल ल्याउन थालिएको छ।
बाढीले रसुवागढी क्षेत्रमा सडक, पुल तथा सरकारी कार्यालयसहितका भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि केरुङका गोदाममा रहेका सामान वैकल्पिक नाका प्रयोग गरी नेपाल भित्र्याउन थालिएको हो। ‘मुसा ट्रान्सपोर्ट’का अनुसार कोरला नाका हुँदै सामान ढुवानी गर्ने काम अहिले तीव्र रूपमा अघि बढिरहेको छ।
ल्हेन्दे खोलामा हिमपहिरोसहित आएको बाढी भोटेकोशी नदीमा मिसिँदा रसुवागढी क्षेत्रमा व्यापक क्षति भएको थियो। बाढीले नेपालतर्फका सडक संरचना तथा चीनतर्फको सीमा क्षेत्रमा रहेका केही भौतिक संरचनासमेत प्रभावित पारेपछि रसुवागढी हुँदै काठमाडौं जोडिने नियमित व्यापारिक मार्ग तत्काल सहज रूपमा सञ्चालनमा आउन नसक्ने अवस्था बनेको छ।
मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार रसुवागढी हुँदै काठमाडौं जोड्ने सडक तथा अन्य आवश्यक पूर्वाधार पुनः सञ्चालनमा आउन केही समय लाग्ने देखिएपछि कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरेर सामान नेपालतर्फ पठाउने काम अघि बढाइएको हो।
उनका अनुसार नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गएकाले बजारमा आवश्यक पर्ने व्यापारिक सामानको ढुवानीलाई सहज बनाउन छोटो वैकल्पिक मार्गबाट सामान पठाउने कामलाई तीव्रता दिइएको छ।
ज्याङका अनुसार उनको परिवारका पुर्खाहरू व्यापार–व्यवसायका सिलसिलामा काठमाडौंको बागबजारबाट तिब्बत पुगेका थिए। हाल उनी सिगात्सेमा रहेर मुसा ट्रान्सपोर्टमार्फत चीनका विभिन्न स्थानबाट नेपालको सीमासम्म व्यापारिक सामान ढुवानी गर्ने व्यवसायमा संलग्न रहेको उनले बताए।
रसुवागढी नाकाको भौतिक पूर्वाधारमा भएको क्षतिका कारण नियमित व्यापारिक मार्ग प्रभावित भएपछि वैकल्पिक नाकाबाट सामान ल्याउने व्यवस्थाले चीनमा रोकिएका व्यापारिक सामान नेपाल भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे