
काठमाडौँ । सरकारले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले राष्ट्रिय कृषि नीति २०८३ ल्याएको छ। नयाँ नीतिले किसानको आम्दानी बढाउने, कृषि उत्पादन वृद्धि गर्ने, खाद्य सुरक्षालाई बलियो बनाउने र कृषि उपजको आयात घटाउने लक्ष्य राखेको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीका अनुसार यो नीति कृषि क्षेत्रमा देखिएका पुराना समस्याको समाधान खोज्दै उत्पादनमुखी र दिगो कृषि प्रणाली विकास गर्न ल्याइएको हो । नीतिले बाँझो जमिनको प्रयोग बढाउने, सिँचाइ र भण्डारण सुविधा विस्तार गर्ने, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने तथा जलवायु परिवर्तनका असरलाई सामना गर्ने योजना अघि सारेको छ।
यसअन्तर्गत कृषि व्यवसायीकरण, प्रविधिको प्रयोग, कृषि यान्त्रिकीकरण, किसानलाई सहुलियत ऋण, बिमा सुविधा, न्यूनतम समर्थन मूल्य र कृषि अनुसन्धानलाई प्राथमिकता दिइएको छ।सरकारले कृषि उत्पादनको गुणस्तर सुधार गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखेको छ। साथै वातावरणमैत्री खेती, माटोको स्वास्थ्य संरक्षण र डिजिटल प्रविधिको प्रयोगलाई पनि जोड दिइएको छ।
नीति सफल बनाउन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, निजी क्षेत्रको सहभागिता र नियमित अनुगमनको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। यसबाट रोजगारी सिर्जना, आयात घटाउने र अर्थतन्त्र बलियो बनाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे