
न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा मंगलबारदेखि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सुरु भएको छ । महासभा आगामी सेप्टेम्बर २९ सम्म सञ्चालन हुनेछ ।
‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित सुरु भएको महासभामा विश्वशान्ति, अन्तर्राष्ट्रिय सुरक्षा, न्याय, जलवायु परिवर्तन, दिगो विकास, मानवअधिकार तथा मानवीय संकटलगायत समसामयिक विश्वव्यापी मुद्दामा छलफल हुने भएको छ ।
महासभाको उद्घाटन सत्रलाई अध्यक्ष खालिलुर रहमान र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरेका थिए । अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय र जलवायु परिवर्तनजस्ता जटिल तथा जल्दाबल्दा विषयमा प्रभावकारी छलफलमार्फत विश्वव्यापी समस्या समाधानका लागि ८१औँ महासभा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
उनले दिगो विकासका रणनीतिको कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार तथा मानवीय समस्या, डिजिटल शासन र प्रविधिको उपयोगका साथै बहुपक्षीय हितका लागि संयुक्त राष्ट्रसंघको पुनर्संरचनालगायत विषयमा महासभामा महत्वपूर्ण छलफल हुने बताए ।
महासचिव गुटेरेसले विश्व विभिन्न किसिमका द्वन्द्व र संकटबाट प्रभावित भइरहेका बेला त्यसको प्रभावकारी सम्बोधनका लागि उपयुक्त रणनीति तथा कार्यक्रम निर्माणमा संयुक्त राष्ट्रसंघ केन्द्रित हुनुपर्ने धारणा राखे । जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन तथा आणविक जोखिमजस्ता चुनौतीले विश्वलाई प्रभावित गरिरहेको उल्लेख गर्दै उनले संवाद, सहकार्य र आपसी सहयोगमार्फत समस्या समाधानका लागि महासभा महत्वपूर्ण मञ्च भएको बताए ।
महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले विज्ञप्ति जारी गर्दै ८१औँ महासभाबाट रचनात्मक तथा उपलब्धिमूलक संवादको अपेक्षा गरिएको जनाएको छ । नियोगले संवाद र सामूहिक प्रयासमार्फत विश्वशान्ति, विकास, मानवीयता तथा जलवायु न्यायका क्षेत्रमा काम गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
यसै अवसरमा नियोगले संयुक्त राष्ट्रसंघ महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका बंगलादेशी कूटनीतिज्ञ खालिलुर रहमानलाई बधाईसमेत दिएको छ ।
यसैबीच, महासभा सुरु भएकै दिन संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित मुलुकहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता बढाउँदै प्रतिफलमुखी नतिजा हासिल गर्न विकासको गति तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
कम विकसित मुलुकहरूको समूहगत अध्यक्षका हैसियतमा अफ्रिकी मुलुकका मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकलाई सम्बोधन गर्दै थापाले उत्पादन क्षमता वृद्धि, डिजिटल रूपान्तरण, जलवायु परिवर्तनबाट उत्पन्न जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, क्षेत्रीय व्यापार विस्तार, सामाजिक सुरक्षा तथा दिगो विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउन र गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरे ।
उनले कम विकसित मुलुकहरूको विकासका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबीचको सहकार्य र प्रतिबद्धता व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा समेत जोड दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे