
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई देशमा नयाँ जागरण ल्याउने महत्वपूर्ण घटना बताएका छन्।
जेनजी शहीद दिवसको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, राजनीतिक भागबन्डा, सरकारी निकायको कमजोरी, नागरिक अधिकारमाथिको नियन्त्रण र रोजगारी तथा अवसरको कमीका कारण युवाहरू सडकमा आउनुपरेको बताए।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र कर्तव्य पालना गर्दा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरे। साथै, घाइते तथा अपांगता भएका व्यक्तिको उपचार, हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने बताए।
लामिछानेका अनुसार जेनजी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा भएको थिएन। यो युवाहरूको स्वतःस्फूर्त आन्दोलन थियो। त्यसैले कुनै दल वा नेताले यसलाई आफ्नो राजनीतिक फाइदाका लागि प्रयोग गर्न नहुने उनको भनाइ छ।
उनले जेनजी आन्दोलनले युवाहरू अब कुशासन स्वीकार गर्न तयार नभएको स्पष्ट सन्देश दिएको बताए। युवाहरूले सरकार र राजनीतिक नेतृत्वसँग जवाफ माग्न सक्ने भएकाले सत्तामा रहेकाहरूले आफ्नो कामको निरन्तर समीक्षा गर्नुपर्ने उनले बताए।
लामिछानेले नागरिकको खबरदारीलाई सकारात्मक रूपमा लिन र निराशालाई देश निर्माणको शक्तिमा बदल्न सबैलाई आग्रह गरे। विधिको शासन, समान अवसर, समृद्धि र राष्ट्रिय स्वाभिमानका लागि आफू प्रतिबद्ध रहेको उनले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे