
काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु तथा लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न पदयात्री, पर्यटन व्यवसायी तथा पथप्रदर्शकलाई आग्रह गरेको छ।
कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्रा तयारीमा रहेका तथा हाल पदयात्रामा रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा यात्रा नगर्न तथा नगराउन आग्रह गरेको हो। पदमार्गमा बाढीका कारण भौतिक संरचनामा क्षति पुगेपछि आवतजावत जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार २०८३ भदौ २१ गते बिहान करिब ३ः३० बजे चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा अचानक बाढी आएको थियो। बाढीका कारण पदमार्ग, होटल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको जनाइएको छ।
बाढीले चुमनुव्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुलसमेत बगाएको छ। त्यसैगरी घापबाट नामरुङ जंगलतर्फ जाने क्रममा बूढीगण्डकी नदीमाथि रहेको झोलुंगे पुल पनि बाढीले बगाएको प्रशासनले जनाएको छ।
पुल तथा पदमार्गमा क्षति पुगेपछि मनास्लु र लार्केपास क्षेत्रमा यात्राका लागि तत्काल सुरक्षित अवस्था नरहेको प्रशासनको निष्कर्ष छ। प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण भने संकलनको क्रममा रहेको जनाइएको छ।
प्रशासनले पदयात्रीसँगै पर्यटन व्यवसायी, पथप्रदर्शक र सम्बन्धित सबै पक्षलाई अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा पदयात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ। साथै, जोखिमपूर्ण अवस्थामा यात्रा गर्दा हुन सक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राखी प्रशासनको सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे