
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र विगतमा जुनसुकै समयदेखि सञ्चालनमा रहेका व्यवसायले चालु आर्थिक वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूमा लाग्ने व्यवसाय कर मिनाहा पाउने भएका छन्। काठमाडौँ महानगरपालिकाको नगर सभाको १९औँ अधिवेशनबाट पारित आर्थिक ऐनले यस्तो व्यवस्था गरेको हो।
आर्थिक ऐनअनुसार महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विभिन्न प्रकृतिका व्यापार तथा व्यवसायलाई १२ वटा विधामा वर्गीकरण गरी व्यवसाय दर्ता तथा नवीकरणका लागि लाग्ने करको दर निर्धारण गरिएको छ। व्यवसाय करको वर्गीकरण गर्दा व्यवसायको प्रकृति, पुँजीगत लगानी र कार्यक्षेत्रलाई मुख्य आधार बनाइएको महानगरपालिकाले जनाएको छ।
यसअघि व्यवसाय कर निर्धारणका लागि आर्थिक वर्ष २०७२/७३ लाई आधार वर्ष मानिँदै आएको थियो। महानगरपालिकाले उक्त व्यवस्थामा संशोधन गर्दै नयाँ आर्थिक ऐनमा व्यवसाय करको आधार वर्ष आर्थिक वर्ष २०७९/८० कायम गरेको छ।
नयाँ व्यवस्थाअनुसार विगतदेखि सञ्चालनमा रहे पनि व्यवसाय दर्ता नगरेका व्यवसायीलाई चालु आर्थिक वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरी महानगरपालिकाको कर प्रणालीमा आबद्ध हुने अवसर दिइएको छ। तोकिएको अवधिभित्र व्यवसाय दर्ता गर्ने व्यवसायीले अघिल्ला वर्षहरूको व्यवसाय करसम्बन्धी दायित्वबाट छुट पाउने भएकाले यसबाट महानगरपालिकाको कर प्रणालीमा अनौपचारिक रूपमा सञ्चालन भइरहेका व्यवसायलाई समेत समेट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महानगरपालिकाले व्यवसायको प्रकृति, लगानी र कार्यक्षेत्रअनुसार करको वर्गीकरण तथा दर निर्धारण गरेसँगै व्यवसाय दर्ता र कर प्रशासनलाई थप व्यवस्थित बनाउने उद्देश्य लिएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे