
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस कार्यक्रममा बोल्दै उनले अब विश्वविद्यालयलाई राजनीतिक भागबण्डाबाट मुक्त बनाउने सरकारको योजना रहेको बताए। मन्त्री पोखरेलका अनुसार विश्वविद्यालयको नेतृत्व र कर्मचारी टोली अब राजनीतिक पहुँचका आधारमा नभई योग्यता र क्षमताका आधारमा चयन गरिनेछ। उनले आगामी चार वर्षभित्र विश्वविद्यालयमा रहेको राजनीतिकरण पूर्ण रूपमा हटाउने दाबी गरे।
विश्वविद्यालयमा हुने नियुक्ति, सरुवा, बढुवा र अन्य प्रशासनिक निर्णय पनि अब राजनीतिक दबाबमा नगरिने उनको भनाइ छ। उनले विश्वविद्यालयलाई प्रभावकारी र गुणस्तरीय बनाउन योग्य व्यक्तिलाई जिम्मेवारी दिने प्रणाली विकास गरिने बताए। मन्त्री पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि पारदर्शी र निष्पक्ष व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै सरकार यस दिशामा प्रतिबद्ध रहेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे