
काठमाडौं – सांसद डा. तोसिमा कार्कीले डा. गोविन्द केसीका मागहरू सरकारले ढिलाइ नगरी सम्बोधन गर्नुपर्ने बताएकी छन्। उनले डा. केसीलाई आमरण अनशन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै सरकारले उहाँसँग तत्काल वार्ता गर्नुपर्ने धारणा राखिन्।
फेसबुकमार्फत उनले प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले डा. केसीसँग सिधै छलफल गरेर उहाँका सुझाव सुन्नुपर्ने बताएकी छन्। उनका अनुसार सरकारले आन्दोलन चर्किएपछि मात्र होइन, समयमै समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ।
कार्कीले डा. केसीले गेटामा बन्न लागेको शहीद दशरथ चन्द विश्वविद्यालयको विरोध नगरेको स्पष्ट पार्दै, उहाँको मुख्य माग त्यहाँ छिटो ३०० शय्याको अस्पताल सञ्चालन गर्नु र चिकित्सा शिक्षा सुरु गर्नु रहेको उल्लेख गरिन्। यसबारे गलत प्रचार नगर्न पनि उनले आग्रह गरेकी छन्।
उनले डा. केसीको सत्याग्रहकै कारण गेटामा ठूला संरचना निर्माण भएको र चिकित्सा शिक्षा सुधारका धेरै उपलब्धि हासिल भएको दाबी गरिन्। गेटामा चिकित्सा शिक्षामा केन्द्रित विश्वविद्यालय स्थापना हुनु सकारात्मक कदम भएको भन्दै यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ। साथै, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियानमा आफू सधैँ डा. केसीसँग रहने पनि उनले बताएकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे